सरकारले कर्फ्यु लगाएर त्रास सिर्जना गर्यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले (भिडियाे)
काठमाडौं । नेकपा एमालेले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेर मतदातामा डर र त्रास सिर्जना गरेको आरोप लगाएको छ ।
जनताको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यू आदेश जारी गर्नु सुरक्षा कमजोरी भएको बताएको हो ।
पत्रकार सम्मेलन आयाेजना गर्दै पार्टीकाे निर्वाचन प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले यसले मतदाताको मनमा भय सिर्जना गरी स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरिरहेको बताए ।
मधेस-तराईका विभिन्न जिल्लामा लगाइएको कर्फ्यूले आम मतदातालाई मतदान केन्द्रसम्म पुग्न अवरोध पुर्याउने काम गरिएको भन्दै चिन्ता व्यक्त गरे ।
सरकारको यो रवैयाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने मात्र नभई लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठाएको एमालेको ठहर छ ।
अनेक बहानामा निर्वाचन सार्ने भ्रामक हल्ला चलेकोप्रति ध्यानाकर्षण भएकाे भन्दै एमालेले घोषित समयमै चुनाव हुनुपर्ने अडान दाेहाेर्याएकाे छ ।
एमालेले आफूलाई स्थायित्व, समृद्धि र सुशासनको विश्वसनीय आधारका रूपमा स्थापित गरिसकेको दाबी गर्दै शाहीले ‘भोट फर चेन्ज’ होइन, ‘भोट फर नेशन’ को नारा अघि सारेको बताए ।
प्रतिनिधि सभा विघटनको प्रक्रिया संवैधानिक परीक्षणबाट प्रमाणीकरण हुनुपर्ने अडान राख्दै एमालेले सर्वोच्च अदालतको आलटालप्रति असन्तुष्टि जनाएको छ । अर्कोतर्फ, महान्यायाधिवक्ताको कार्यालयले ‘जेन–जी’ उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णयले दण्डहीनता मौलाउने वातावरण बनेको एमालेको आरोप छ ।
निर्वाचनको यो संवेदनशील घडीमा केही सञ्चारमाध्यम (सेताेपाटी) बाट एकपक्षीय मत सर्वेक्षण सार्वजनिक गरी जनमत प्रभावित पार्न खोजिएको भन्दै एमालेले आपत्ति जनाएको छ ।
यस्ता प्रायोजित तथ्याङ्कले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको र पत्रकारिताको विश्वसनीयता गुमाएको शाहीले बताए ।
सामाजिक सञ्जाल (फेसबुक, टिकटक, युट्युब आदि) मार्फत गलत सूचना र कृत्रिम सामग्री प्रसार गरी राजनीतिक ध्रुवीकरण गराउन खोजिएको भन्दै एमालेले सरोकारवाला सबैलाई जिम्मेवार हुन आह्वान गरेको छ ।
