दुर्गा प्रसाईंले साेधे-राजा बाटाेमा निस्किने सुनेकाे छु, थुन्ने दम छ सुशीला कार्की ?(भिडियाे)
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई थुनेर देखाउन चुनाैती दिएका छन् ।
निर्वाचन हुनु हुँदैन भन्दा आफू पक्राउ भन्दै उनले पूर्वराजा ज्ञानेन्द्रले पनि चुनाव हुन नहुने भनेकाले पक्राउ गरेर थुनामा हाल्न प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र काठमाडाैका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पाैडेललाई चुनाैती दिएका हुन् ।
पृथ्वीनारायणा शाहकाे प्रसङ्ग जाेड्दै उनले देश सङ्कटमा परेकाे भन्दै पूर्वराजा शाह सडकमा आउनैपर्ने भएकाे बताए ।
‘मलाई चुनाव गर्नु हुँदैन भन्दा ल्याएर थुन्नुभयाे ।राजालाई पनि ल्याएर थुनाैँ । दम छ ओमप्रकाश अर्याल, दम छ सुशीला कार्की, दम छ काठमाडाैका सीडीओ ?,’ उनले भने, ‘अब राजाले पनि हिम्मत गर्नुपर्छ । मैले सुनेकाे छु राजा बाटाेमा आउने कुरा । राजा बाटामा आउँदा नि विदेशी सेना आएर राेके मात्रै हाे, नभए नेपाली सेना, पुलिस र नेपाली जनताले दरबारभित्र लगेर सलामी ठाेक्नुपर्छ ।’
उनले पूर्वराजा ज्ञानेन्द्रसँग सल्लाह भइरहेकाे पनि बताए । त्यसपछि उनी सडकमा आउनेबारे थाहा हुने उनकाे दाबी छ ।
चुनावअघि कि पछि ज्ञानेन्द्र सडकमा आउँछन् भन्ने नेपालवान एचडीकाे प्रश्नमा उनले भने, ‘हाम्राे सल्लाह भइरहेकाे छ, त्यस पछाडि ।’
चुनाव विराेधी कित्तामा उभिएका उनलाई यही ४ फागुनमा पक्राउ परेका थिए । सर्वाेच्चकाे आदेशपछि आज रिहा भएका उनी वर्तमान सरकारप्रति निकै आक्रमक सुनिए ।
