`

टी-२० विश्वकप: आयोजक श्रीलंकासँग भिड्दै न्युजिल्याण्ड

Nepal One HD १३ फागुन २०८२ १७:०४
खेलकुद

काठमाडौं। टी-२० विश्वकपको सुपर ८ अन्तर्गत समूह २ मा आज श्रीलंका र न्यूजिल्याण्डबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ।  कोलम्बोस्थित प्रेमदसा रंगशालामा आयोजना हुने खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरू हुनेछ। प्रतियोगिताको सेमिफाइनल यात्रा तय गर्न दुवै टोलीका लागि यो खेल निर्णायक मानिएको छ।

सुपर एट्समा श्रीलंकाको प्रदर्शन अपेक्षाअनुसार हुन सकेको छैन। बलिङ पक्ष सन्तुलित देखिए पनि ब्याटिङ क्रम निरन्तर दबाबमा छ। विशेषगरी सुरुआती ओभरमा शीर्ष क्रमले मजबुत शुरुआत दिन नसक्दा मध्यमक्रममा अतिरिक्त भार परेको छ। घरेलु मैदानको साथ भए पनि यस खेलमा पराजित भए सेमिफाइनल पुग्ने सम्भावना अत्यन्त कमजोर बन्नेछ। त्यसैले श्रीलंकामाथि जितको दबाब स्पष्ट देखिन्छ।

यता न्यूजिल्याण्ड भने आत्मविश्वासका साथ मैदान उत्रने तयारीमा छ। समूह चरणदेखि नै संयमित र योजनाबद्ध खेल प्रस्तुत गर्दै आएको टोलीले ब्याटिङ र बलिङ दुवै विभागमा स्थिरता देखाएको छ। श्रीलंकाविरुद्धको विगतको भेटमा पनि न्यूजिल्याण्डको जित दर माथि रहेकाले मानसिक रूपमा उनीहरू बलिया मानिएका छन्।

कोलम्बोको पिच सुरुआती समयमा ब्याट्सम्यानका लागि सहज भए पनि खेल अघि बढ्दै जाँदा स्पिनरलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यसैले टसको निर्णय महत्वपूर्ण बन्न सक्छ। दोस्रो इनिङ्समा ओसको प्रभाव पर्न सक्ने अनुमान पनि गरिएको छ।

समूह २ बाट सेमिफाइनल प्रवेशका लागि दुवै टोलीलाई यो खेल जित्नैपर्ने अवस्थामा उभिएको छ। श्रीलंका घरेलु समर्थकमाझ पुनरागमनको लक्ष्यसहित मैदान उत्रनेछ भने न्यूजिल्याण्ड जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गर्ने योजनामा हुनेछ। प्रतिस्पर्धा रोमाञ्चक र उच्च दबाबपूर्ण हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *