सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनबारे छलफल
कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन पश्चात सुदूरपश्चिमका जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री शाह र सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीबीच आज यहाँ विश्वविद्यालय सञ्चालनका सम्बन्धमा भएको छलफलमा उहाँले सुदूरपश्चिमका जनतामाझ गुणस्तरीय स्वास्थ्य सेवा पहुँच पु-याउन सो विश्वविद्यालय छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
विश्वविद्यालय सञ्चालनका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको उहाँको भनाइ थियो । विश्वविद्यालयको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा शैक्षिक कार्यक्रम विस्तारबारे छलफल भएको थियो ।
छलफलमा विश्वविद्यालयका उपकुलपति प्राडा सुनिलकुमार जोशी, रजिस्ट्रार प्राडा खेमराज जोशी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याललगायतको सहभागिता थियो ।
