काठमाडौं । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर-२ का उम्मेदवार शंकर पोखरेलले चुनावी घोषणापत्र सार्वजनिक गर्दै ‘५ वर्षमा ५ क्रान्ति’ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पोखरेलले आर्थिक, शैक्षिक, स्वास्थ्य, प्रविधि र सुशासन क्षेत्रमा रूपान्तरण ल्याउने लक्ष्यसहित विस्तृत एजेन्डा अघि सारेका हुन्। उनको चुनाव चिह्न ‘सूर्य’ हाे ।
घोषणापत्रमा पहिलो प्राथमिकताका रूपमा आर्थिक तथा पूर्वाधार क्रान्ति अघि सारिएको छ। यसअन्तर्गत रोजगारी सिर्जना, सडक-सिँचाइ-उद्योग विस्तार तथा लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता गरिएको छ।
स्थानीय स्रोत-साधनको अधिकतम उपयोग, निजी क्षेत्रसँग सहकार्य र पूर्वाधार विकासमार्फत दाङलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने योजना प्रस्तुत गरिएको छ।
दोस्रो एजेन्डा शैक्षिक क्रान्ति हो। गुणस्तरीय शिक्षा सुनिश्चित गर्दै प्राविधिक तथा सीपमूलक कार्यक्रम विस्तार गर्ने, विद्यालय र कलेजमा आधुनिक शिक्षण पद्धति लागू गर्ने तथा डिजिटल शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ। शिक्षालाई रोजगारीसँग जोड्ने नीति अवलम्बन गरिने घोषणापत्रमा उल्लेख छ।
तेस्रो प्राथमिकता स्वास्थ्य सेवामा क्रान्ति रहेको छ। सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, आधुनिक उपकरणसहितका अस्पतालको विकास गर्ने तथा गाउँ-गाउँमा विशेषज्ञ सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
आधारभूत स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै आपतकालीन सेवाको सुदृढीकरण गर्ने योजना पनि समेटिएको छ।
चौथो एजेन्डा प्रविधिमा क्रान्ति हो। डिजिटल पूर्वाधार विकास, स्मार्ट सेवा प्रणालीको स्थापना तथा युवालाई प्रविधिमैत्री अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।
सरकारी सेवा प्रवाहलाई प्रविधिमार्फत सरल, छरितो र पारदर्शी बनाइने उल्लेख गरिएको छ।
पाँचौं प्रतिबद्धता सुशासनमा क्रान्ति हो। पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्दै छिटो तथा प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने, भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्ने तथा जनगुनासो सम्बोधनलाई प्राथमिकता दिने एजेन्डा अघि सारिएको छ।
पोखरेलले पाँच वर्षभित्र यी पाँच क्षेत्रमा देखिने परिवर्तन ल्याउने दाबी गर्दै दाङ-२ का मतदातासँग मत मागेका ५न् ।
