`

पूरा भयाे चुनावकाे तयारी, खटिए २ लाख १५ हजार कर्मचारी

Nepal One HD १४ फागुन २०८२ १७:०९
निर्वाचन विषेश

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनकाे पूर्ण तयार भएकाे निर्वाचन आयाेगले जनाएकाे छ ।

आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग तयार भइसकेकाे बताएका छन् ।

कूटनीतिक समुदायका लागि आयोजित विशेष ब्रिफिङ कार्यक्रममा उनले निर्वाचनका सम्पूर्ण व्यवस्थापकीय कार्यहरू अन्तिम चरणमा पुगेको जानकारी दिए ।

सचिव राउतकाअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख मतदाता सहभागी हुँदैछन्ज, जसमा ४९ प्रतिशत महिला र ५१ प्रतिशत पुरुष छन् ।

मतदानका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्रहरू तोकिएका छन् ।

साथै अस्थायी मतदाताहरूका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न १ सय ४३ वटा अस्थायी मतदान केन्द्रहरूको समेत व्यवस्था गरिएको छ ।

निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको सचिव राउतले जानकारी दिए ।

निर्वाचन आचारसंहिता पालना गराउन जिल्ला स्तरमा अनुगमन समिति र मुख्य निर्वाचन अधिकृतहरूको नेतृत्वमा टोलीहरू सक्रिय रहेका छन् ।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन र बदर मत संख्या घटाउन ६ हजार ७ सय ४३ वडास्तरीय स्वयंसेवकहरू १५ दिनका लागि परिचालन गरिएका छन् ।

निर्वाचन खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम गर्न राजनीतिक दल र उम्मेदवारहरूका लागि छुट्टै निर्वाचन प्रचार खाता खोल्न अनिवार्य गरिएको छ ।

कूटनीतिक नियोगका प्रतिनिधिहरूको जिज्ञासा सम्बोधन गर्दै सचिव राउतले मतदान सकिए लगत्तै गणना सुरु हुने र दुर्गम क्षेत्रबाहेक अन्य स्थानमा १ देखि ३ दिनभित्र नतिजा आउने अपेक्षा गरिएको बताए ।

विदेशी पत्रकारहरूका लागि सूचना तथा प्रशारण विभागमार्फत पास उपलब्ध गराइने र पर्यवेक्षकहरूका लागि विशेष सुरक्षा र समन्वयको व्यवस्था मिलाइएको उनले बताए ।

निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सचिव राउतले छिमेकी र मित्र राष्ट्रहरूबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *