चुनाव क्षेत्र झापा-५ मा रहेका ओलीले भने, ‘हामीले ०५१ सालदेखि सुकुम्बासी आयोग बनाएर धनिपुर्जा वितरण गर्न थाल्यौँ। ६८ हजार धनिपुर्जा बाँड्न सुरु गरिसकेका थियौँ। देशभरी बाँड्ने अभियान चलाउँदै थियौं । त्यस्तोबेला सुकुम्बासी आयोग नै खारेज गरिदियो, सरकार नै ढालिदियो। त्यसपछि हामीले लामो समय केही गर्न सक्ने भएनौं ।’
ओलीले एमाले सरकारमा जाँदा हरेक पटक आयोग पुनःगठन गरेर काम अघि बढाइएको उल्लेख गरे। ‘जहिले सरकारमा गयौँ, फेरि आयोग बनायौँ र धनिपुर्जा बाँड्न थाल्यौं,’ उनले भने, ‘अस्ति पनि हामीले भूमि व्यवस्थापनसम्बन्धी आयोग बनाएर सबै प्रकारको भूमि समस्या समाधान गर्नेगरी काम थालेका थियौँ। धनिपुर्जा र व्यवस्थापन सुरु भएपछि सरकार ढालियो, उपद्रव मच्चाइयो देशमा।’
उनले आयोग विघटनविरुद्ध अदालत पुगेको र अहिले पुनःस्थापित भएको जानकारी दिए। ‘अहिले हामीले अदालत गएर आयोग फिर्ता ल्याएका छौँ। अब हामीसँग आयोग छ, आयोगले काम गर्छ,’ उनले भने, ‘चुनावपछि धनिपुर्जा वितरण आदि काम सुरु हुन्छ।’
आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गर्दै उनले भने, ‘यो चुनावमा हामीले जित्छौँ भन्ने विश्वास लिएको छु। एमालेले जित्यो भने नै काम गर्न सक्ने हो, नत्र अरुले त जलाउने, भत्काउने हो। केही पनि हुनेवाला छैन।’
ओलीले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई कानुनी स्वामित्व दिलाउने प्रतिबद्धता दोहोर्याउँदै भने, ‘एमालेले बनाउँछ, एमालेले जोगाउँछ, एमालेले अगाडि बढाउँछ कामहरू। सुकुम्बासीलाई र अव्यवस्थित बसोबासीलाई धनिपुर्जा दिन्छ।’
ओलीले चुनाव जितेर प्रधानमन्त्री भएपछि सुकुम्बासी र अव्यवस्थित बसाेबासीहरुलाई धनिपुर्जा वितरण गरिने बताए ।
