बालेनलाई याेगेश भट्टराईकाे कडा टिप्पणी- ठेगाना बिनाका झिल्केबाट सचेत बनौँ
दमक । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले झापा- ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन् ।
आइतबार यसै क्षेत्र अन्तर्गतको दमक-१ मा आयोजित चुनावी कार्यक्रममा उनले विकस, राष्ट्रियता र राष्ट्रवादी अडानका कारण ओलीको विकल्पमा अरु नेता नभएको र आसन्न चुनावमा यस क्षेत्रमा समेत उनी नै निर्विकल्प रहेको बताए ।
आफू ताप्लेजुङकाे बासिन्दा भएको उल्लेख गर्दै त्यहाँको तुलनामा झापा-५ मा भएको विकासले पनि यहाँका मतदाताले ओलीलाई नै रोज्नेमा आफू ढुक्क रहेको बताए ।
चुनावको मुखमा कतिपय ठेगाना बिनाका झिल्केहरु उम्मेदवार भएको उल्लेख गर्दै त्यस्ताको इतिहास र भविष्य केही नहुने उल्लेख गरे ।
‘उनीहरु आफैँको त इतिहास छ न भविष्य छ, त्यस्ताबाट देश र जनताले के अपेक्षा गर्न सक्छन् र’, उनले भने ।
भट्टराईले अहिले देश र संविधानलाई संकटमा पार्न खोजिएको भन्दै एमाले देशको अभिभावक पार्टी भएकाले चुनाव पछि सबै सम्हाल्ने दाबीसमेत गरे ।
आफ्ना नेतासँग जिज्ञासा, गुनासा र प्रश्न राख्ने अधिकार जनतालाई रहेको उल्लेख गर्दै उनले साेही कारण पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रत्येक नागरिकको गुनासाको सम्बाेधन गरिरहेको बताए । जनताका प्रश्नहरुबाट भाग्नेले देश बनाउँछन् भनेर आशा राख्नु नै बेकार रहेको समेत उनकाे भनाइ छ ।
