पैसा बाँडेर चुनाव जिते सांसद पद खारेज, ६ वर्ष चुनाव लड्न नपाउने गरी सजाय !
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता पालनामा शून्य सहनशीलताको नीति अपनाउने चेतावनी दिएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शून्य समयमा नगद चलखेल वा आचारसंहिताको उल्लंघन भए उम्मेदवार विजयी भइसकेको अवस्थामा पनि उम्मेदवारी खारेज गरिने स्पष्ट पारे ।
हालसम्म देशभरबाट आचारसंहिता उल्लंघनका करिब १ हजार १ सय उजुरी परेको उनकाे भनाइ छ ।
तीमध्ये धेरैको स्थानीयस्तरमै फर्छ्याैट भइसकेको उनले बताए । आयोगले २५-३० वटा गम्भीर प्रकृतिका उजुरीमाथि केन्द्रीयस्तरबाटै कारबाहीको निर्णय गरिसकेको र केही विषयहरू अदालतमा समेत पुगेको उनले बताए ।
उनले भने, ‘यदि कसैले रकम लेनदेन गरेको वा निर्वाचन सामग्री र रकमको झोला एकै ठाउँमा बोकेर हिँडेको प्रमाण भेटिएमा र त्यो बरामद भएमा उम्मेदवारी खारेज मात्र होइन, अर्को ६ वर्षसम्म निर्वाचनमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइनेछ । एउटा राजनीतिक प्राणीलाई राजनीतिबाट ६ वर्ष वञ्चित गरिनु सबैभन्दा ठूलो सजाय हो ।’
निर्वाचन आयोग कुनै पनि दबाबमा नपरी कानुन बमोजिम कार्य सम्पादन गर्न दृढ रहेको उनकाे दाबी छ ।
