टी-२० विश्वकप: जिम्बावेले दियो दक्षिण अफ्रिकालाई १५४ रनको चुनौति
काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२५/२६ अन्तर्गत सुपर एट्स चरणको समूह-१ को खेलमा जिम्बावेले दक्षिण अफ्रिकालाई १५४ रनको लक्ष्य दिएको छ। दिल्लीस्थित अरुण जेटली स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनायो।
जिम्बावेका लागि कप्तान सिकन्दर रजाले शानदार ब्याटिङ गर्दै ४३ बलमा ८ चौका र ४ छक्कासहित ७३ रन बनाए। क्लाइभ मदान्डेले अविजित २० बलमा ३ चौका प्रहार गर्दै २६ रन जोडे। ब्रायन बेनेटले १३ बलमा १५ रन, डियोन मायर्सले १६ बलमा ११ रन र टाडिवानाशे मारुमानीले ७ रनको योगदान दिए। अन्य ब्याट्सम्यानहरू सस्तोमा आउट हुँदा जिम्बावेले ठूलो स्कोर बनाउन सकेन।
दक्षिण अफ्रिकाका बलरहरूमध्ये क्वेना माफाकाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। एनरिक नोर्खियाले ४ ओभरमा २९ रन दिएर १ विकेट हात पारे। लुंगी एनगिडी र जर्ज लिन्डेले पनि १–१ विकेट लिए। कोर्बिन बोस्चले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए तर महँगो साबित भए।
अब दक्षिण अफ्रिकाले १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गर्नेछ। प्रतियोगितामा बलियो लयमा रहेको दक्षिण अफ्रिका यो लक्ष्य सहज रूपमा पछ्याउने प्रयासमा छ। जिम्बावे यस विश्वकपमा प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै आए पनि सुपर एट्स चरणबाट अघि बढ्ने सम्भावना समाप्त भइसकेको छ भने दक्षिण अफ्रिका आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहन्छ।
