`

दक्षिण अफ्रिकाको अपराजित यात्रा कायमै, सुपर ८मा जितविहिन रह्यो जिम्बावे

Nepal One HD १७ फागुन २०८२ १८:४८
खेलकुद

काठमाडौं । जारी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। सुपर ८ मा समूह–१ को खेलमा जिम्बावेले दिएको १५४ रनको लक्ष्य दक्षिण अफ्रिकाले पाँच विकेटको क्षतिमा १७ दशमलव पाँच ओभरमै पूरा गर्दै लगातार जित दर्ता गर्‍यो। सुपर ८मा जितविहीन रहेको जिम्बावे भने प्रतिस्पर्धात्मक प्रदर्शनका बाबजुद अर्को हार बेहोर्न बाध्य बन्यो।

दिल्लीमा भएको खेलमा पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५३ रन बनाएको थियो। कप्तान सिकन्दर रजाले ४३ बलमा आठ चौका र चार छक्कासहित ७३ रनको उत्कृष्ट इनिङ्स खेले। क्लाइभ मदान्डे २० बलमा २६ रन जोड्दै अविजित रहे। ब्रायन बेनेटले १५, डियोन मायर्सले ११ र टाडिवानाशे मारुमानीले सात रन बनाए।

दक्षिण अफ्रिकाका बलरमध्ये क्वेना माफाकाले चार ओभरमा २१ रन खर्चेर दुई विकेट लिए। कोर्बिन बोस्चले दुई विकेट लिए पनि ४० रन खर्चिए। एनरिक नोर्खिया, लुंगी एनगिडी र जर्ज लिन्डेले समान एक–एक विकेट हात पारे।

१५४ रनको लक्ष्य पछ्याउन उत्रिएको दक्षिण अफ्रिकाको सुरुवात कमजोर रह्यो। क्विन्टन डी कक शून्यमै आउट भए भने कप्तान एडेन मार्कराम चार रनमै पवेलियन फर्किए। तर रियान रिकेल्टनले ३१ रन बनाएर इनिङ्स सम्हाले। त्यसपछि डेवाल्ड ब्रेभिसले १८ बलमा दुई चौका र चार छक्कासहित ४२ रनको आक्रामक इनिङ्स खेल्दै खेललाई दक्षिण अफ्रिकातर्फ मोडे।

डेभिड मिलरले २२ रन जोडेपछि ट्रिस्टन स्टब्स र जर्ज लिन्डेले संयमित साझेदारी गर्दै टोलीलाई लक्ष्यसम्म पुर्‍याए। स्टब्स २१ रनमा अविजित रहे भने लिन्डेले ३० रन जोड्दै जित सुनिश्चित गरे।

जिम्बावेका लागि सिकन्दर रजाले चार ओभरमा २९ रन खर्चेर तीन विकेट लिएर उत्कृष्ट बलिङ गरे। ब्राड इभान्स र ब्लेसिङ मुजाराबानीले समान एक–एक विकेट लिए पनि लक्ष्य जोगाउन पर्याप्त भएन।

यस जितसँगै दक्षिण अफ्रिकाले सुपर एट्स चरणमा आफ्नो मजबुत स्थिति कायम राखेको छ। जिम्बावे भने सुपर एट्समा जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

समूह चरणका चारै खेल जितेको दक्षिण अफ्रिका सुपर ८मा पनि अपराजित रहँदै सेमिफाइनल पुग्यो । सुपर ८मा यसअघि दक्षिण अफ्रिकाले भारत र वेस्ट इन्डिजलाई पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *