मान्छेले नदेख्न खोज्यो भने देख्दैन, कतिपयले नदेख्न खोजेको देख्छु : ओली (भिडियाे)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो नेतृत्वमा देशभर ठूला पूर्वाधार र स्वास्थ्य परियोजनाहरू अघि बढाइएको दाबी गरेका छन्। तर, आफ्नाे नेतृत्त्वमा भएका विकासका कामरहरु नदेखेकाे भन्दै गुनासाे गरे ।
चुनाव क्षेत्र झापा-५ मा रहेका उनले साेमबार भने, ‘हुन त मान्छेले नदेख्न खोज्यो भने केही पनि देख्दैन । कतिपय मान्छेहरुले नदेख्न खोजेको देख्छु । यत्रो हस्पिटल बनाएको छ, नदेख्न खोजेको देख्छु म । यस्तो हस्पिटल यहाँ मात्रै होइन, देशभरी बनाएको छु ।’
उनले आफ्नो कार्यकालमा एकैपटक देशभरकाे ३९६ पालिकामा आधारभूत अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको उल्लेख गरे। ‘एकैचोटी मैले ३९६ पालिकामा आधारभूत अस्पताल भनेर यी अस्पतालहरु बनाइएको हो,’ उनले भने।
ओलीले ठूला राजमार्ग र पूर्वाधार योजनाहरू पनि आफ्नै पहलमा सुरु गरिएको दाबी गरे। ‘मेची-महाकाली राजमार्ग यति चौडा बनाइँदैछ, मैले सुरु गरेको हो । मैले नै योजना बनाएको हो । हुलाकी राजमार्गको विकासका लागि मैले नै सुरु गरेको हो । मदन भण्डारी राजमार्ग मैले नै सुरु गरेको हो । हजारौँ पुलको निर्माण मैले गरेको हो,’ उनले भने।
दमकको विगत स्मरण गर्दै उनले ३० वर्षअघिको अवस्थासँग तुलना गरे। ‘यहाँ दमकमा चापाकलबाहेक केही थिएन । विजुली थिएन । टुकी कि लाल्टिन बाहेक केही थिएन । यो ३० वर्ष अगाडिको कुरा हो । यो दमकजस्तो ठाउँमा पक्की घरहरु थिएन, छाप्राहरु थिए । अहिले राजमार्ग भएको ठाउँमा केही पनि थिएन,’ ओलीले भने।
उनले एमालेले मात्रै देश बनाउने र विकासलाई तीव्रता दिने दाबी गर्दै मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आह्वान गरे।
