अमेरिकी सेनाकाे बहराइनस्थित हवाई अड्डा ध्वस्त पारेकाे इरानकाे दाबी
काठमाडौं । अमेरिकी सेनाकाे बहराइनस्थित हवाई अड्डा (एयरबेस) मा इरानले भीषण आक्रमण गरेकाे छ ।
सार्वजनिक भिडियाेहरुमा त्यहाँ रकेट प्रहार भएकाे देखिन्छ । फार्स समाचार एजेन्सीले सार्वजनिक गरेकाे भिडियाेमा अमेरिकी सेनाकाे हवाई अड्डामा रहेको कमान्ड र स्टाफ भवनलाई ध्वस्त पारेको छ र इन्धन ट्यांकी विस्फोट भएको छ।
याे आक्रमण इरानको रिभोलुसनरी गार्ड कोर्प्सले गरेकाे हाे । फार्सकाे समाचार रिपोर्टमा गरिएको दाबीअनुसार बहराइनको शेख इसा क्षेत्रमा रहेको हवाई अड्डामा ड्रोन र मिसाइल आक्रमणले गरिएकाे हाे ।
यसअघि बहराइनमा रहेको अमेरिकी नौसेना अड्डाबाट धुवाँकाे मुस्लाे उडिरहेको देखिएको थियो। इरानकाे आक्रमणपछि अमेरिकाले प्रत्याक्रमण गरेकाे छैन ।
इजरायलले भने तेहरानसहित देशकाे विभिन्न स्थानमा भीषण हमला जारी राखेकाे छ । शनिबार यता सर्वाेच्च नेता आयताेल्लाह अलि खामेनीसँगै सात सय बढीकाे मृत्यु भइसकेकाे छ ।
शनिबार अमेरिका र इजरायलले एकैसाथ तेहरानसहित विभिन्न रणनीतिक र सैन्य अड्डाहरुमा आक्रमण गरेकाे थियाे ।
त्यसपछि क्रद्ध इरानले मध्यपूर्वमा रहेका अमेरिकी सेनाकाे हवाइ र नाैसेनाकाे अड्डाहरुमा प्रत्याक्रमण जारी राखेकाे छ । उसले इजरायलमा पनि निरन्तर आक्रमण गरिरहेकाे छ ।
यसबीच अमेरिकाको विदेश मन्त्रालयले यसअघि नै बहराइनलगायत मध्यपूर्वका देशमा बसोबास गर्ने आफ्ना नागरिकलाई तुरुन्तै त्यहाँबाट बाहिरिन निर्देशन दिएको थियो।
