`

निर्वाचनकाे दिन तराई र पाेखरामा हावाहुरीकाे सम्भावना, अन्यत्र के होला ? (वार्ता)

Nepal One HD १९ फागुन २०८२ १६:३६
निर्वाचन विषेश

काठमाडौं । यही फागुन २१ गते देशैभर प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजदेखि बेलुकी ५ बजेसम्म हुने मतदान हुनेछ ।

निर्वाचनमा मतदान प्रभावित हुने भनेकै वर्षा र हिमपात हुँदा हो । यसअघि देशको हिमाली क्षेत्रमा निर्वाचनको दिन हिमपात हुन सक्ने र त्यसले मतदान प्रभावित हुने भन्दै राजनीतिक दलहरूले चिन्ता प्रकट गरेका थिए ।

लगत्तै प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बुदेखि ताप्लेजुङलगायत हिमाली जिल्लाको अवलोकनमा निस्किइन् ।

आवश्यक तयारी गर्न मुख्य निर्वाचन अधिकृतदेखि प्रमुख जिल्ला अधिकारीसँगै सुरक्षा अधिकारीहरूलाई निर्देशन दिइन् ।

के निर्वाचनको दिन हिमाली क्षेत्रमा वर्षा वा हिमपातको सम्भावना देखिन्छ ? यसबारे वरिष्ठ मौसमविद् बरुण पौडेलसँग गरेको संवाद गरेका छौँ ।

०००

२१ गते बिहीबार देशैभर प्रतिनिधिसभा निर्वाचन हुँदै छ । त्यस दिनको मौसम कस्तो रहन सक्छ ?

२१ गतेको हकमा त्यस्तो ठूलो वर्षा हुने कुनै बाह्य प्रणालीहरू सक्रिय छैन । आन्तरिक प्रणाली सक्रिय छैन । विस्तारै गर्मीको समय सुरु हुँदैछ । केही स्थानमा हावा चल्ने देखिन्छ, तराई तथा पोखराको आसपास क्षेत्रमा ।

अन्यत्र त्यस्तो झरी वर्षाको सम्भावना छैन । यद्यपि, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागहरूमा केही ठाउँमा आंशिक बदली हुने देखिन्छ । समग्रमा हेर्दा, २१ गते पानी पर्ने सम्भावना छैन ।

हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ कि छैन ?

एकदमै न्यून सम्भावना छ । मैले अघि नै भनेँ- जस्तो, कोशी प्रदेशको ताप्लेजुङ र गण्डकीको बागलुङमा हल्का बादल देखिन्छ । परिहाले एकछिन छिटफुट पर्न सक्छ तर हिमपातै पर्छ भन्ने सक्ने अवस्था छैन अहिले । सामान्य बादल रहन्छ । मौसम सामान्यतः सफा नै रहन्छ ।

भनेपछि मतदातालाई मौसमकै कारण मतदान प्रक्रियामा सहभागी हुन असहज हुने छैन ?

छैन, कतै पनि छैन । बरु २२ गते अलिअलि बादल देखिन सक्छ, हिमाली भू-भागमा । त्यसो हुनाले संयोग मान्नुपर्छ- २१ गतेको हकमा मौसम राम्रो छ ।

कतै हावाहुरी र आंशिक बदलको सम्भावनाको कुरा गर्नुभयो, मतदाताले सावधानीका लागि के-के गर्नुपर्ला ?

मतदाताले त्यति सावधानी अपनाउनु नपर्ला । गर्मी समय हो । घामै लाग्छ । हावा चले पनि पानी पर्ने हुँदैन ।

बरु, मतदानस्थलमा टेन्टहरू राम्रोसँग गाड्नुपर्छ । मतदानस्थल बनाउँदाखेरी त्यो कुरा ख्याल गर्नुपर्छ । सामान्यतः मतदातालाई मौसमले प्रभाव पार्ने र सावधानी अपनाउनुपर्ने त्यस्तो केही छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *