खामेनीका उत्तराधिकारीलाई पनि नछोड्ने इजरायलको धम्की
तेल अविव। इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानमा नयाँ नियुक्त हुने सर्वोच्च नेतालाई पनि जिवित नछोड्ने धम्की दिएका छन् । ‘इरानी आतंकवादी शासनको नेतृत्व गर्न आउने जुनसुकै व्यक्ति हाम्रो लागि अटल लक्ष्य हुनेछ, उसको नाम के हो वा कहाँ लुक्छ भन्ने कुराले कुनै फरक पार्दैन,’ काट्जले भनेका छन् । साथै, काट्जले अमेरिकासँग मिलेर इरानको सैन्य क्षमता नष्ट गर्ने र इरानी जनताले आफ्नो सरकार उखेल्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
गत साता अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनी मारिएका थिए । उनी सन् १९८९ देखि इरानका सर्वोच्च नेता थिए। लगभग ३७ वर्षसम्म उनले इरानको राजनीति, सैन्य र धार्मिक मामिलाको सर्वोच्च नियन्त्रण आफ्नो हातमा राखे । इरान सरकारले यसलाई आधिकारिक रूपमा स्वीकार गर्यो । उनका साथै उनका शीर्ष सुरक्षा सल्लाहकार अली शमखानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसि) का सेनापति मोहम्मद पाकपुर पनि मारिएका थिए ।
खामेनीको मृत्युपछि इरानको संविधानको धारा १११ अनुसार तीन सदस्यीय अन्तरिम परिषदले देश सञ्चालन गरिरहेको छ, जसमा राष्ट्रपति मसूद पेजेश्कियान, न्यायपालिकाका प्रमुख र गार्डियन काउन्सिलका एक धर्मगुरु सामेल छन् । स्थायी उत्तराधिकारी छनोट गर्ने जिम्मा ८८ वरिष्ठ धर्मगुरुहरूको निकाय ‘असेम्बली अफ एक्सपर्ट्स’ लाई छ । तर यो प्रक्रिया पनि सहज छैन । मार्च ३ मा कोममा रहेको असेम्बली अफ एक्सपर्ट्सको भवनमा नयाँ नेता छनोटको मतदान चलिरहँदै अमेरिकी-इजरायली हवाई हमला भयो ।
उत्तराधिकारीको दौडमा खामेनीका द्वितीय पुत्र मोजतबा खामेनीको नाम अग्रपंक्तिमा छ, तर पिता-पुत्र उत्तराधिकार शिया इस्लामको परम्परामा उचित मानिँदैन र उनीसँग वरिष्ठ धार्मिक पद पनि छैन । इस्लामिक गणतन्त्रका संस्थापक अयातुल्ला खोमेनीका नाति हसन खोमेनी पनि दाबेदारका रूपमा चर्चामा छन्, उनी तुलनात्मक रूपमा उदारवादी मानिन्छन् । अली लारिजानी र अलिरेजा अराफी पनि सम्भावित नामहरूमा छन् ।
नोभेम्बर २०२५ मै राष्ट्रपति पेजेश्कियानले संसदमा चेतावनी दिएका थिए कि खामेनीलाई क्षति पुग्यो भने इरानभित्रका विभिन्न गुट एकअर्काविरुद्ध लड्न थाल्छन् र बाहिरी हस्तक्षेपबिनै शासन ढल्न सक्छ । अहिले त्यही अवस्था सामुन्ने आइसकेको छ ।
