रास्वपा उम्मेदवार नरेन्द्र साह कलवर पनि कालाेसूचीमा, तर छैन उजुरी परेकाे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे अर्काे उम्मेदवार पनि कर्जा सूचना केन्द्रकाे कालाेसूचीमा रहेकाे फेला परेकाे छ ।
उनी हुन्- नरेन्द्र साह कलवर । रास्वपाबाट उनी सर्लाही-३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
कर्जा सूचना केन्द्रमा उनको नाम कालोसूचीको ८९६३५ नम्बरमा छ। तर, कलवरकाे विरुद्धमा उजुरी नपरेकाे सर्लाहीका सहायक सीडीओ होमप्रसाद घिमिरेले बताए ।
उजुरी परे कलवरकाे उम्मेदवारीबारे निर्णय हुन सक्ने उनकाे भनाइ छ ।
यसअघि मङ्गलबार रास्वपाकै धनुषा-१ का उम्मेदवार किशाेरी साहकाे उम्मेदवारी खारेज भएकाे थियाे ।
उनी पनि कर्जा सूचना केन्द्रकाे कालाेसूचीमा रहेकाे पाइएकाे थियाे । त्यसपछि उनकाे उम्मेदवारी खारेजीकाे मागसहित निर्वाचन आयाेगमा उजुरी परेकाे थियाे ।
आयाेगले साह उम्मेदवार हुन अयाेग्य भएकाे भन्दै उम्मेदवारी खारेज गरेकाे हाे ।
अब सर्लाही-३ का रास्वपाकै उम्मेदवार कलवरबारे पनि उजुरी परे उम्मेदवारी खारेज हुन सक्ने आयाेगले सङ्केत गरेकाे छ ।

