`

निर्धक्क मतदान गर्न कार्यबाहक प्रमुख निर्वाचन आयुक्तकाे आग्रह

Nepal One HD २० फागुन २०८२ १४:२९
निर्वाचन विषेश

काठमाडौं ।निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन् ।

निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उनले आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका छन् ।

गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम् परिस्थितिमा यो आकस्मिक निर्वाचन हुन गइरहेको उनले बताए ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझै सुदृढ एवं परिपक्व बनाउने विश्वास व्यक्त गरे ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको उनले बताए ।

निर्वाचनलाई कुनैपनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन आयोग दृढ संकल्पित रहेको भण्डारीले स्पष्ट पारे ।

मतदानलाई मतदाताको नैसर्गिक अधिकार र कर्तव्य दुवै भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताए ।

उनले मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्तिको रूपमा लिइने भन्दै सुसूचित मतदानले शासनप्रतिको नागरिक अपनत्व बढाउने दाबी गरे ।

निर्वाचन व्यवस्थापनका सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारकर्मी र आमसञ्चारमाध्यम लगायत सबै सरोकारवालाबाट प्राप्त सहयोगले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा र हौसला मिलेको बताए ।

प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला नै निर्वाचन भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता प्रदान गर्ने हुँदा बिहीबार आ-आफ्नो मतदान केन्द्रमा उपस्थित भई निर्धक्कका साथ मतदान गर्न आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *