रास्वपाले बाचापत्रकाे इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ – अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले लामो समयदेखि स्थिर सरकारको आवश्यकता औँल्याउँदै आएको बताउँदै त्यो पूरा हुन लागेको बताए । उनकाअनुसार स्थिर सरकारले स्थायी नीति ल्याएर आर्थिक गतिविधि बढाउन सक्छ ।
अहिले करिब दुई तिहाई बहुमत नजिकको सरकार बन्न लागेको भन्दै ढकालले निजी क्षेत्रसँग सम्बन्धित विषयहरू रास्वपाको वाचापत्रमा पनि समावेश गरिएको स्मरण गराए । उनले रास्वपाले वाचापत्रमार्फत निजी क्षेत्रमैत्री प्रतिवद्धताहरू व्यक्त गरेको उल्लेख गर्दै ती प्रतिवद्धताहरू इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्ने बताए ।
ढकालकाअनुसार ती प्रतिबद्धताहरू प्रभावकारी रूपमा लागू भएमा छोटो समयमा नै धेरै काम गर्न सम्भव हुनेछ । बाह्य तथा आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने खालका नीतिहरू अबको सरकारले लिनुपर्ने समेत उनले बताए ।
‘राजनीतिक परिवर्तनको हिसाबले नयाँ सरकार आउँदैछ । वास्तवमा निजी क्षेत्रले सधैँ भनिरहने एउटा स्थायी सरकार चहियो जुन सरकारले स्थिर नीति ल्याउन सकोस् भन्ने निजी क्षेत्रले धेरै पहिलैदेखि उठाउँदै आएको विषय थियो । अहिले करिब दुई तिहाईको सरकार आएको छ । निजी क्षेत्रका इस्युहरुलाई रास्वपाको वाचापत्रमा पनि उल्लेख गरिएको छ,’ उनले भने, ‘निजीक्षेत्र मैत्री प्रतिवद्धताहरु रास्वपाले वाचापत्रमा गरेको छ । अब ती प्रतिवद्धताहरु इमानदारीपूर्वक लागू हुनुपर्छ । ती प्रतिवद्धताहरु लागू भयो भने छोटो समयमा धेरै काम गर्न सकिन्छ ।’
अध्यक्ष ढकालले कतिपय भूतप्रभावी कानुनका कारण लगानीकर्तामा निराशा आइरहेको बताउँदै त्यस्ता कानुन लागू नहुने सुनिश्चितता राज्यले गर्नुपर्ने बताए ।
ढकालकाअनुसार भूतप्रभावी कानुन लागू नहुने सुनिश्चितता भएमा देशमा छिट्टै आर्थिक गतिविधि बढाउन सकिन्छ र आन्तरिक रोजगारी सिर्जना गर्न पनि मद्दत पुग्छ ।
आर्थिक गतिविधि बढेसँगै राजश्व संकलन पनि बढ्ने र त्यसबाट पूर्वाधार निर्माणमा समेत सहयोग पुग्नेछ । आर्थिक गतिविधि विस्तार हुँदा छोटो समयमा नै आम नेपालीको चाहना पूरा गर्न सकिने विश्वास समेत उनकाे छ ।
