पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन महामन्त्री पौडेलको आग्रह
काठमाडौँ, ३ चैतः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन सरकारसँग आग्रह गर्नुभएको छ । महामन्त्री पौडेलले आज एक भिडियो सन्देश जारी गरी मध्यपूर्वमा देखिएको द्वन्द्वको असरले नेपालमा महँगी बढ्न लागेको भन्दै त्यसलाई रोक्न पेट्रोलियम पदार्थमा सहुलियत दिन सरकारसँग आग्रह गर्नुभएको हो ।
उहाँले मध्यपूर्वमा देखिएको द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा यातायात क्षेत्रमा मात्र नभएर सबैतिर यसको बहानामा मूल्यवृद्धि हुने खतरा बढेको बताउनुभयो । “विगत केही दिनदेखि मध्यपूर्वका देशमा भएका घटनाले हामीलाई प्रभाव पार्ने दखिएको छ, मोटरसाइकल चढेर हिँड्नेदेखि दूध लिएर घर जानेसम्मका जोकोहीको पनि खर्च बढेको छ, सबैतिर पेट्रोलियमको मूल्यवृद्धिलाई देखाएर मूल्यवृद्धि भयावह हुने सम्भावना बढेर गएको छ,”– उहाँले भन्नुभयो ।
“वैकल्पिक ऊर्जाबाट चल्ने गाडीमा प्रोत्साहित गर्नुपर्छ, यस्तै वैकल्पिक ऊर्जाको प्रयोगबाट पेट्रोलियम पदार्थको उपभोग न्यूनीकरण गर्न सकिने सबै स्थिति प्रयोगमा ल्याउन सक्नुपर्छ,”– उहाँले भन्नुभयो । उहाँले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि कारण महँगी बढ्ने खतरा रहेको र त्यसलाई रोक्न बजार अनुगमन गरेर कालोबजारी हुन नदिन आग्रह गर्नुभयो ।
