`

१ लाख १५ हजार च्याटमा केमिकल बनाउने विधिमा छलफल

Nepal One HD १२ चैत २०८२ १३:५२
अर्थ समाचार

भदौ २३ र २४ का घटनाका क्रममा ‘हामी नेपाल’ एडमिन रहेको ‘युग अगेन्स्ट करप्शन’ र ‘युवा हब’ नामक दुई डिस्कर्ड सर्भरमा एक लाख १४ हजारभन्दा बढी संदेश आदानप्रदान भएको जाँचबुझ आयोगको अध्ययनबाट खुलेको छ। गौरीबहादुर कार्की नेतृत्वको आयोगले ती सर्भरमार्फत् सोडियम मेटल, म्याग्नेसियमजस्ता प्रज्वलनशील रसायन बनाउन सकिने विधि सम्बन्धी जानकारी आदानप्रदान भएको तथ्य उजागर गरेको हो।

प्रतिवेदनका अनुसार ती प्ल्याटफर्महरूमा बोतल, पेट्रोल र कपडा प्रयोग गरेर मोलोटोभ कक्टेल बनाउने विधिबारे मात्रै ३५६ पटक चर्चा भएको पाइएको छ।

‘मेडिकल रेस्क्यू’ का नाममा प्रदर्शनस्थलमा सक्रिय रहेको ‘हामी नेपाल’ समूहले सूचना आदानप्रदानका लागि भीडभित्र डिस्कर्ड सर्भरको क्युआर कोड अंकित प्लेकार्ड समेत प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ। विशेषगरी भदौ २३ गते मात्र उक्त सर्भरबाट १,८१० वटा संवाद भएको देखिन्छ।

त्यही दिन साँझ डिस्कर्डमार्फत् ‘होस्टलमा युवती बलात्कार भयो’, ‘संसद भवनभित्र दर्जनौँ युवाहरू मारिए’ जस्ता झुटा र भ्रामक सूचना फैलाइएको आयोगले निष्कर्ष निकालेको छ। यिनै मिथ्या सूचनाले भदौ २४ गते आन्दोलनमा उत्रिएका युवाहरू झनै आक्रामक बन्न भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *