१४ अंकले सेयर बजार बढ्दा पनि घट्यो कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंकले बढेको छ। यस वृद्धिपछि नेप्से परिसूचक २९५० अंकमा कायम भएको छ। बजार बढ्दा पनि कारोबार रकम घटेको देखिएको छ। अघिल्लो दिन १५ अर्ब ९ करोडको कारोबार भएकोमा बिहीबार १३ अर्ब १६ करोड रुपैयाँको कारोबार मात्र भएको छ। १७८ कम्पनीको मूल्य बढ्दा ८० कम्पनीको घटेको र ८ कम्पनीको स्थिर रहेको छ।
समूहगत प्रदर्शनमा जलविद्युत् समूह सबैभन्दा धेरै १.५६ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ ०.३७, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.८१, उत्पादन तथा प्रशोधन १.५०, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४३ र अन्य समूह ०.६५ प्रतिशतले बढेका छन्। त्यसैगरी, व्यापार समूह २.८४ प्रतिशत घटेको छ भने जीवन बीमा ०.०४ र विकास बैंक ०.०५ प्रतिशतले घटेका छन्।
आज ५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। यी कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन पर्छन्। त्यस्तै, नेसनल हाइड्रोपावर ६.२४, रिडी पावर ६.१९ र शुभम पावर ५.८० प्रतिशतले मूल्य बढेका छन्।
सबैभन्दा बढी मूल्य घट्ने कम्पनी पन्चकन्या माइ हाइड्रोपावर ७.४८ प्रतिशतले घटेको छ। त्यसैगरी, सिन्धु विकास बैंक ३.५८, कर्पोरेट डेभलपमेन्ट ३.२४ र विशाल बजार ३.४ प्रतिशतले घटेका छन्।
आज धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल, नेसनल हाइड्रोपावर, रिडी पावर र ङादी ग्रुप रहेका छन्।
