पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न निर्देशन दिएपछि सुरक्षा निकायहरूलाई हाई अलर्टमा राखिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्ना सबै मातहत निकायलाई उच्च सतर्कतामा रहन आदेश जारी गरेको पुष्टि गरिएको छ।
ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरीले मध्यरातसम्म छलफल गरे पनि अहिलेसम्म कुनै ठोस निष्कर्ष निस्किएको छैन। प्रहरीले लिखित आदेश माग गरेको र लेखित निर्देशन प्राप्त भएपछि मात्र प्रक्रिया अघि बढाउने अडान लिएको छ। यही विषयमा प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री गुरुङ, गृहसचिव र कानुन सचिवबीच थप छलफल भएको हो।
एक उच्च प्रहरी अधिकारी भने, ‘हामीले लिखित आदेश मागेका छौँ, त्यो आएपछि मात्र प्रक्रिया अघि बढ्छ।’
हाल गुण्डुस्थित ओलीको निवास वरपर नेपाल प्रहरी, भक्तपुर प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध महाशाखाका टोलीहरू निगरानीका लागि परिचालन गरिएका छन्।
प्रहरी प्रधान कार्यालयमा भएको छलफलमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, एआईजी गणेश ठाडा मगरलगायतका उच्च अधिकारी सहभागी थिए।
यसअघि गृह मन्त्रालयमा गृहमन्त्री गुरुङले दुईवटै सुरक्षा एजेन्सीका प्रमुखसँग जेनजी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गरेका थिए। तर कसरी अगाडि बढ्ने भन्ने विषयमा सहमति नजुटेपछि, गृहमन्त्री, गृहसचिव, कानुन सचिव र प्रहरी प्रमुखहरूले राति नै पुनः आन्तरिक समन्वय बैठक गरेका हुन्।
