`

अधिक तरलता व्यवस्थापनका लागि,४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

Nepal One HD १५ चैत २०८२ १३:३४
अर्थ समाचार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आइतबार ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ।  अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।

हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७७ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यही अधिक तरलता नियन्त्रण गर्दै बजार ब्याजदर सन्तुलित राख्न केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत नियमित रूपमा तरलता खिच्दै आएको छ।

बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। ब्याजदर प्रतिस्पर्धात्मक रूपमा निर्धारण हुनेछ, जहाँ कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखेर रकम बाँडफाँट गरिनेछ।

निक्षेप सङ्कलन उपकरणको सावाँ र ब्याज २०८३ वैशाख ६ गते भुक्तानी गरिनेछ। बोलकबोल अनलाइन प्रणालीमार्फत गरिनेछ भने सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म (५ करोडका गुणकमा) प्रस्ताव गर्न सक्नेछन्।

केन्द्रीय बैंकको खुला बजार कारोबार कार्यविधिअनुसार, वित्तीय प्रणालीमा दीर्घकालीन अधिक तरलता देखिएमा अधिकतम ६ महिनासम्मका यस्ता उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। यही प्रावधानअनुसार राष्ट्र बैंकले समय–समयमा निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *