रसुवामा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
रसुवा। रसुवाको गतलाङ क्षेत्रको डढेलोबाट उजाड बनेको वन पुनः हरियाली बनाउने अभियान सुरु हुने भएको छ। डिभिजन वन कार्यालयले दुर्गम भूगोलका कारण पहुँच कठिन भएका क्षेत्रमा ‘ड्रोन’मार्फत वनस्पतिका बीउ छर्ने योजना अघि बढाएको हो।
२०६५ सालमा भीषण आगलागीका कारण उक्त क्षेत्रमा सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ वनस्पति नष्ट भएका थिए। त्यसयता वन क्षेत्र पूर्ण रूपमा पुनर्जीवन पाउन सकेको थिएन।
डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङका अनुसार स्थानीय हावापानीअनुसारका वनस्पतिका बीउ सङ्कलन भइरहेको छ र आगामी जेठको अन्तिम सातादेखि ड्रोनमार्फत बीउ छर्ने काम सुरु गरिनेछ। यस कार्यक्रमका लागि इसिमोड, वन विज्ञान अध्ययन संस्थान र डिभिजन वन कार्यालयबीच त्रिपक्षीय सहकार्य भएको छ।
डढेलोबाट प्रभावित करिब ४५५ हेक्टरमध्ये पहिलो चरणमा १०० हेक्टर क्षेत्रमा बीउ छर्ने योजना बनाइएको छ। आगलागीका कारण गतलाङ क्षेत्रमा करिब १६ हजार सल्ला र अन्य बहुमूल्य प्रजातिका रुख नष्ट भएका थिए।
आर्थिक वर्ष २०७९/८० देखि वन व्यवस्थापनको काम सुरु गरिए पनि जलेका रुखको उचित व्यवस्थापन हुन नसक्दा वन पुनःस्थापना ढिलो भएको जनाइएको छ। हालसम्म ३० हजारभन्दा बढी सल्लाका बिरुवा रोपिएको छ, जसमध्ये करिब २५ हजार बिरुवा रसुवागढी जलविद्युत आयोजनाले उपलब्ध गराएको हो।
वन कार्यालयको कार्यक्षेत्र समयसँगै घट्दै हाल ८ हजार ३२१ हेक्टरमा सीमित भएको छ। यस क्षेत्रमा आमाछोदिङ्मो, गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका नौ वटा वडा समेटिएका छन्, जहाँ ६८ वटा सामुदायिक वनमार्फत संरक्षण कार्य अघि बढाइएको छ।
वन कार्यालयले डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ। भिरालो भूगोल, चैत-वैशाखको हुरीबतास र दुर्गम क्षेत्रका कारण आगलागी नियन्त्रण चुनौतीपूर्ण रहेको बताइएको छ। त्रिशूली नदीपारिको पश्चिमी रसुवामा पर्ने यो वन क्षेत्र मालागढीदेखि अधेरी खोलासम्म फैलिएको छ, जससँग आसपासका गाउँहरू प्रत्यक्ष रूपमा जोडिएका छन्।
