नेप्से लाग्यो ओरालो,७४ अंकको गिरावट
काठमाडौं। कारोबारको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ। नेप्से ७४.७३ अंकले घटेर २७७६ बिन्दुमा झरेको छ।
बजार खुलेदेखि नै दिनभर रातो अंकमा कारोबार भएको थियो। यसअघि आइतबार र सोमबार गरी ११९ अंकले घटेको बजार मंगलबार सामान्य सुधार हुँदै १९.७ अंकले बढेको थियो।
बजारमा उच्च गिरावट आए पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ११ अर्ब ११ करोड रुपैयाँको कारोबार भएकोमा आज १२ अर्ब १० करोड रुपैयाँ पुगेको छ। कुल १३ कम्पनीको मूल्य बढ्दा २५५ कम्पनीको मूल्य घटेको छ।
सबै समूहगत सूचकहरू घटेका छन्। ‘अन्य’ समूह सबैभन्दा धेरै ५.२६ प्रतिशतले घटेको छ, जसमा नेपाल पुनर्बीमा कम्पनी को मूल्य ९.८४ प्रतिशतले घट्दा समग्र सूचक प्रभावित भएको हो।
त्यस्तै बैंकिङ २.३१%, विकास बैंक ३.१८%, फाइनान्स ३.०३%, होटल तथा पर्यटन २.१२%, हाइड्रोपावर २.८१%, लगानी २.६७%, जीवन बीमा २.०२%, उत्पादन तथा प्रशोधन ०.३९%, माइक्रोफाइनान्स १.९९%, निर्जीवन बीमा २.२२% र व्यापार समूह ३.९६% ले घटेका छन्।
यद्यपि, ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। तीमध्ये हालै सूचीकृत भएका रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।
मूल्य सबैभन्दा धेरै घट्नेमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। साथै सप्तकोशी विकास बैंक ७.२८%, नेसनल हाइड्रोपावर ७.१७%, शिवश्री हाइड्रोपावर ७.००% र हिमाल दोलखा हाइड्रोपावर ६.४१% ले घटेका छन्।
आज सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी रहेका छन्।
