`

प्रियतावादको जालमा फसेका सुदनको दलदेखि दलसम्म कुदामारी ! (टिप्पणी)

Nepal One HD १९ चैत २०८२ १४:१६
फिचर

काठमाडौं । सुदन किराती ‘प्रियतावादी’ नेता हुन् । उखान टुक्का मिलाएर बोल्न खप्पिस छन् । जनताको पक्षमा के काम गर्दा भन्दा पनि के बोल्दा ताली पड्किन्छ ? उनलाई राम्रोसँग थाहा छ ।

जेन–जी विद्रोहको बेला कांग्रेस, एमाले, माओवादीलगायत दलमा तिनै दलका प्रियतावादी नेताहरूले नेतृत्वलाई गालीको वर्षा गरे । माओवादीभित्र सुदन थिए । सुदन पार्टी नेतृत्व प्रचण्डसँग ठुस्किएका थिए । कारण, मन्त्रिपरिषद् पुनर्गठन गर्दा तत्कालीन प्रधानमन्त्री प्रचण्डले सुदनलाई हटाएर हितबहादुर तामाङलाई पर्यटनमन्त्री बनाए । यहीँदेखि प्रचण्डसँग उनी बिच्किए ।

प्रचण्डलाई भ्रष्ट नेतामा करार गरे । नेपाली कम्युनिस्ट आन्दोलनको घातक पात्रका रूपमा चित्रण गरे । १८ कात्तिकमा त जनार्दनले पार्टी छाडे । उनीसँगै उभिए सुदन पनि । प्रगतिशील अभियान घोषणा भयो । अध्यक्षमण्डल गठन भयो । सुदन पनि अध्यक्षमण्डलका सदस्य भए ।

पूर्वमाओवादी नेता बाबुराम भट्टराई पनि त्यहीँ मिसिए । रास्वपाबाट आएका नेता सन्तोष परियार त्यहीँ अँटे । अथवा पहिले नै माओवादी छाडेका, पछि छाडेका र रास्वपामा मनदुःखा गरेर बसेका नेताहरूको मिल्ति भयो । अनि, दल दर्ता भयो– प्रगतिशील लोकतान्त्रिक पार्टी । चुनावी घोषणापत्र सार्वजनिक गर्दा नै प्रलोपा कुन धारको शक्ति हो ? स्पष्ट किटान थिएन ।

समाजवादी, प्रजातान्त्रिक कि राजसंस्थापक्षधर भन्ने ठहर गर्न सकिने थिएन । त्यही दलको अध्यक्षमण्डलको सदस्य भए, सुदन । तर, पूर्ण आकारमा दलीय स्वरुप प्रलोपाले ग्रहण गर्न सकेन । भोजपुरमा २०६४ यता आफूलाई मत दिने मतदाताहरूले उनलाई बहिष्कार गरे । साथ दिएनन् । सायद उनले ठानेका थिए, – जनता मेरो पेवा हो । म जहाँ उभिन्छु, त्यहीँ उभिन्छन् । ठीक उल्टो भयो ।

यस्तोमा चलाखीपूर्वक उनले चुनाव नलड्ने घोषणा गरे । हर्क साम्पाङ र उनका दलका उम्मेदवारहरूलाई जिताउने बाचा गरे । नभन्दै सुनसरी–१ मा हर्कलाई भोट मागे, जहाँ भोजपुरदेखि बसाई सरेर आएकाहरूको बस्ती बाक्लै छ । भोजपुरमा साम्पाङकै दलका उम्मेदवार ध्रुव राईलाई मत मागे । दुवैले चुनाव जिते पनि ।

उता रुकुम पश्चिममा भने प्रलोपा नेता जनार्दन शर्मा उम्मेदवार थिए । २०६४ यता जित्दै आएका उनी नेकपा उम्मेदवार (पूर्वमाओवादी) गोपाल शर्मासँग पराजित भए । प्रलोपा शून्य भयो । पहिलो पटक नयाँ दल खोलेर चुनाव लड्दा जनार्दन मात्रै होइन, सुदन पनि राजनीतिको किनारामा धकेलिए । बिहीबार त पार्टीबाटै अलग भए । पाँच महिना पनि पार्टी चलाउन सकेनन् ।

भनिन्छ, उनी श्रम संस्कृति पार्टीमा प्रवेश गर्दैछन् । उनलाई केही दिनमै अध्यक्ष हर्क साम्पाङले पार्टीमा स्वागत गर्दैछन् । तर, विगत भने सुदन र हर्कको तीतो छ । जतिबेला सुदन पर्यटनमन्त्री थिए, धरानमा विमानस्थल निर्माण गर्ने हर्कको योजनामा साथ दिएनन् । हर्कको तर्क थियो– ‘विराटनगर विमानस्थल बर्खामा डुबानमा पर्छ । उडान ठप्प हुन्छ । धरानमा डुबान हुँदैन ।’

सुदन मन्त्री हुनुअघिसम्म भन्थे, ‘ल ठिक छ ।’ जब मन्त्री भए, विमानस्थल निर्माणका लागि साथ दिएनन् । हर्क भने सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा पटकपटक आए । स्टाटसमार्फत् सुदनलाई उनको पूर्वप्रतिबद्धता स्मरण गराए । सुदनले कान ठाडो पारेनन् । अनि, हर्कको आलोचनाको केन्द्रमा परे । नजिकै विराटनगर विमास्थल भएको हुनाले धरानमा विमानस्थल नचल्ने विज्ञहरूको मत थियो । सायद त्यही मतले सुदन ‘कन्भिन्स्ड’ भए । पूर्ववत् प्रतिबद्धताबाट पछि हटे । दुईबीच तिक्ततापूर्ण सम्बन्ध भयो ।

तर, चुनावअघि सम्बन्धमा सुधार भयो । यतिबेला भने पार्टी प्रवेश गर्ने मनस्थितिमा सुदन पुगेका छन् । आलोचकहरूका अनुसार यो उनको वैचारिक स्खलनको उत्कर्ष विन्दु हो । १० वर्ष माओवादी सशस्त्र युद्धमा होमिएका, त्यसपछि डेढ दशक बढी संसदीय राजनीतिका खेलाडी बनेर देशलाई समाजवादी दिशामा अघि बढाउने भन्दै हिँडेका उनी गैरवामपन्थी दल प्रलोपाहुँदै सोही प्रकृतिको अर्को दल श्रम संस्कृति पार्टीमा जान्छन् भने आलोचकहरूको तर्क सत्य नजिक हुनेछ । अर्को शब्दमा भन्दा ‘प्रियतावादी’ नेता विचार र आन्दोलनप्रति इमानदार हुँदैनन् भन्ने जीवन्त उदाहरण हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *