`

‘मर्लिन मोनरोको जन्मशताब्दी’

Nepal One HD १९ जेठ २०८३ १३:४६
चलचित्र

काठमाडौं। मेरिलिन मनरोको १००औँ जन्मजयन्ती हलिउडमा विशेष रूपमा मनाइएको छ ।

सन् १९२६ जुन १ मा लस एन्जलसमा जन्मिएकी मनरोको जन्मशताब्दीको अवसरमा सोमबार हलिउडभर विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

सन् १९६२ मा मात्र ३६ वर्षको उमेरमा निधन भएकी मेरिलिन मनरोलाई आज पनि हलिउडको सबैभन्दा प्रतिष्ठित र प्रतीकात्मक कलाकारमध्ये एक मानिन्छ ।

हलिउड बुलेभार्डस्थित ‘वाक अफ फेम’ मा पर्यटक मार्गदर्शक लेसी नोएलका अनुसार मनरोको नाम सुन्नासाथ हलिउडको पहिचान सम्झिन्छ। किनभने उनको आकर्षण र रहस्यमय व्यक्तित्व अझै पनि जीवित छ ।

सन् १९५३ को फिल्म ‘जेन्टलमेन प्रिफर ब्लोन्ड्स’ मा देखिएको उनको अभिनय, साथै हलिउडको ऐतिहासिक चाइनिज थिएटरमा उनका प्रशंसकहरूले ‘ह्याप्पी बर्थडे’ गीत गाएर जन्मदिन मनाएको दृश्य कार्यक्रमको मुख्य आकर्षण बनेको थियो । त्यहाँ १०० वटा गुलाब र जन्मदिनको केक पनि राखिएको थियो ।

उनको जन्मशताब्दीको अवसरमा आइतबारदेखि नै कार्यक्रमहरू सुरु भएका थिए । हलिउडस्थित एकेडेमी म्युजियमले ‘मेरिलिन मनरो : हलिउड आइकन’ नामक विशेष प्रदर्शनी सुरु गरेको छ।

जसमा उनको फिल्मी यात्रा र व्यक्तिगत जीवनका महत्वपूर्ण पक्षहरू प्रस्तुत गरिएको छ ।

यो प्रदर्शनी फेब्रुअरी २०२७ सम्म चल्नेछ र त्यसमा सयौं दुर्लभ सामग्रीहरू समावेश छन्। जसमा ‘डायमन्ड्स आर अ गर्ल्स बेस्ट फ्रेन्ड’ गीतमा प्रयोग गरिएको उनको चर्चित गुलाबी पोशाक पनि राखिएको छ ।

जुन ४ मा जुलियन्स अक्सन्सले ‘१०० इयर्स अफ मेरिलिन’ शीर्षकमा विशेष लिलामी आयोजना गर्दै करिब २०० वटा उनका व्यक्तिगत सामग्रीहरू बिक्री गर्ने तयारी गरेको छ ।

ती सामग्रीमा अप्रकाशित तस्बिर, अन्तिम फिल्मको स्क्रिप्ट, हस्तलिखित रेसिपी तथा प्रयोग गरिएको लिपस्टिकसमेत रहेका छन् ।

मेरिलिन मनरोको बाल्यकाल कठिन थियो । उनी अनाथालय र पालक परिवारबीच हुर्किएकी थिइन् । १६ वर्षकै उमेरमा विवाह गरेकी मनरोले पछि मोडलिङमार्फत करियर सुरु गरिन् ।

दोस्रो विश्वयुद्धका बेला कारखानामा काम गर्दा खिचिएको तस्बिरले उनको जीवन परिवर्तन गरिदियो र उनी हलिउडतर्फ उन्मुख भइन् ।

छिट्टै उनले फक्स स्टुडियोसँग सम्झौता पाइन् र छोटो समयमा नै विश्वव्यापी स्टार बनिन् । अभिनयसँगै उनले आफ्नै निर्माण कम्पनी पनि स्थापना गरिन् र स्टुडियो प्रणालीको दबाबलाई चुनौती दिइन् ।

उनको प्रसिद्ध दृश्यहरूमा ‘द सेभेन इयर इच’ फिल्मको सबवे भेन्टमाथि उभिएर सेतो पोशाक सम्हाल्ने दृश्य आज पनि सबैभन्दा चिनिने सिनेमाटिक क्षणमध्ये एक मानिन्छ ।

उनको व्यक्तिगत जीवन पनि निकै चर्चित रह्यो । जो डिमाजियोसँग छोटो विवाह, पछि नाटककार आर्थर मिलरसँग पाँच वर्षको सम्बन्ध तथा अमेरिकी राष्ट्रपति जोन एफ केनेडी र रोबर्ट एफ केनेडीसँग उनको नाम जोडिनु हलिउड इतिहासका चर्चित प्रसंग हुन् ।

सन् १९६२ अगस्टमा लस एन्जलसस्थित आफ्नै घरमा लागुऔषधको अत्यधिक सेवनका कारण मनरोको निधन भयो । उनी केवल ३६ वर्षकी थिइन्, तर आज पनि उनी हलिउड संस्कृतिको अविस्मरणीय ध्रुवतारा का रुपमा सदा जाज्वल्यमान छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *