बालेन कदम संविधानविपरीत भए प्रतिवाद गर्ने कांग्रेस सांसद आङ्देम्बेको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संविधान र जनअपेक्षाअनुसार काम गर्न कडा खबरदारी गरेका छन्।
उनले सरकारका सकारात्मक काममा साथ रहने तर विचलन भए सशक्त प्रतिवाद गर्ने स्पष्ट सन्देश दिएका छन्।
प्रतिनिधिसभामा बोल्दै आङ्देम्बेले विगत ७५ वर्षको राजनीतिक इतिहास स्मरण गराउँदै कुनै पनि प्रधानमन्त्रीले पूर्ण पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको उल्लेख गरे। उनले वर्तमान प्रधानमन्त्रीलाई पूर्ण कार्यकालको शुभकामना दिँदै त्यसका लागि सही मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
‘हामी राम्रो काममा साथ दिन तयार छौँ,’ उनले भने, ‘तर संविधानविपरीत कर्म भए वा नागरिकको अपेक्षाविपरीत कार्य भए हामी खबरदारी गर्दै अगाडि उभिनेछौँ।’
आङ्देम्बेले नयाँ सरकारको प्राथमिकता सुशासन, पारदर्शिता र नागरिकका आधारभूत अपेक्षाको सम्बोधन हुनुपर्नेमा जोड दिए। उनले सरकारलाई आपसी सद्भाव कायम गर्दै राज्य प्रशासनलाई प्रभावकारी बनाउन आग्रह गरे।
उनले संसद्को भूमिका सशक्त निगरानी र सन्तुलन कायम गर्ने भएको उल्लेख गर्दै सरकारलाई जिम्मेवार र उत्तरदायी बन्न चेतावनी दिए। ‘हामी चाहन्छौँ, नयाँ सरकार सही दिशामा अघि बढोस्,’ उनले भने, ‘तर यदि मार्ग विचलित भयो भने कांग्रेस चुप लागेर बस्दैन।’
