नेपाली कुस्ती खेलाडीको बिदाइ
काठमाडौँ। नेपाली कुस्ती खेलाडीले किर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
अप्रिल ५ देखि १२ तारिखसम्म हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता तथा अप्रिल १२ देखि १४ तारिखसम्म हुने सिनियर एसियाली बेल्ट कुस्ती एलिस प्रतियोगितामा खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
दुवै प्रतियोगितामा पुरुष ७४ केजीमा सुरेश चुनारा तथा ९७ केजीमा त्रिलोकीप्रसाद यादवले नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । सुरेशले गत वर्ष भारतमा भएको एसियाली वेल्टमा कांस्य जित्नुभएको थियो । प्रशिक्षकमा मुम्ताज अली इद्रिसी हुनुहुन्छ । खेलाडीसहितको तीन सदस्यीय टोली चैत २४ गते किर्गिस्तान जानेछ ।
यस्तै अप्रिल ५ तारिखमा किर्गिस्तानमै हुने युनाइटेड विश्व रेस्लिङ एसिया काउन्सिलको साधारण सभामा भाग लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य समेत रहेका नेपाल कुस्ती सङ्घका अध्यक्ष प्रकाशकुमार कुसारी शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।
टोलीलाई सफलताको शुभकामना दिदै राखेपका सदस्य–सचिव रामचरित्र मेहताले बिहीबार बिदाइ गर्नुभयो ।
