`

द्वन्द्वग्रस्त पश्चिम एसियाबाट नेपालीको उद्धार गर्दै सरकार

Nepal One HD २० चैत २०८२ ८:१५
प्रवास

काठमाडौं । अमेरिका-इजरायलले इरानमा संयुक्त आक्रमण गरेपछि पश्चिम एसियामा देखिएको द्वन्द्वले जोखिममा परेका नेपालीको उद्धार हुँदैछ ।

सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सञ्चालन गरेर उनीहरूको उद्धार गर्ने भएको हो । सरकारी स्वामित्तवको नेपाल एयरलाइन्सले आज (३ अप्रिल) काठमाडौं–दुबई, भोलि (४ अप्रिल) दुबई–काठमाडौं र पर्सि (५ अप्रिल) काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान भर्न लागेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

द्वन्द्व फैलिएको देश र आसपासका प्रभावित देशहरूमा गरी झण्डै १४ लाख नेपाली छन् । जोखिमपूर्ण क्षेत्रमा काम गर्दै आएका नेपालीहरूले देश फर्किन चाहेका छन् ।

केही भने गन्तव्य मुलुक जान नेपालमै अड्किएका छन् । यसरी सरकारले गन्तव्य मुलुक जानेलाई पुर्‍याउन र स्वदेश फर्किन चाहनेलाई फर्काउन विशेष उडानका लागि नेपाल एयरलाइन्सलाई पठाउन लागेको हो ।

यही १७ चैतमा परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमका उच्चपदस्थ अधिकारीहरू सम्मिलित बैठकले पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल गरेको थियो ।

लगत्तै परराष्ट्रमन्त्री शिशिर खनालले निर्देशनपछि नेपाल वायुसेवा निगमले तीन दिनसम्म विशेष उडान सञ्चालन गर्न लागेको हो ।

जारी द्वन्द्वले पश्चिम एसियामा नियमित उडानहरू २८ फेब्रुअरीदेखि स्थगित छ, जसले स्वदेश फर्किन चाहेका नेपाली र गन्तव्य मुलुक जान चाहेका नेपाली प्रभावित भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *