`

रविलाई कुनैबेला ‘ब्रान्ड एम्बेस्डर’ नियुक्त गरेका अर्याल बन्दैछन् सभामुख

समिन बरुवाल २० चैत २०८२ १२:३३
फिचर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले सभामुख पदका लागि मनाेनयन दर्ता गराएका छन्।

सभापति रवि लामिछानेसहित उनी शुक्रबार मनाेनयन दर्ताका लागि संसद सचिवालय पुगेका थिए । संसदमा रास्वपाको बहुमत (१८२ सांसद) रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चितजस्तै छ । लामिछानेले उनलाई बधाई दिएका थिए।

अर्यालका प्रस्तावक लामिछाने  र समर्थक स्वर्णिम वाग्ले छन् । आइतबार सभामुख चयन गर्न मतदानकाे कार्यतालिका सचिवालयले तय गरेको छ।

रास्वपा नेताहरूका अनुसार मन्त्रिपरिषद् गठनका क्रममा अर्यालले गृहमन्त्री बन्ने इच्छा देखाएका थिए। तर सुधन गुरुङलाई गृहमन्त्री बनाउने र अर्याललाई सभामुख बनाउने निर्णय रास्वपाले गरेकाे थियाे । साेहीअनुसार गुरुङ गृहमन्त्री भए । अर्यालले पनि सभामुखमा मनाेनयन दर्ता गराए ।

उनी सभापति लामिछानेका विश्वासपात्र मानिन्छन् । रास्वपा गठनअघि नै अर्याल लामिछानेसँग निकट थिए।

निकट सम्बन्ध र पार्टीलाई आर्थिक सहायता गरेकै कारण रविले अघिल्लो प्रतिनिधिसभामा अर्याललाई समानुपातिक सांसद बनाएका थिए । रास्वपा प्रचण्डकाे सरकारमा सहभागी हुँदा अर्याल दुईपटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए।

सभापति विदेश जाँदा वा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्‍गठित अपराधकाे प्रतिवादी बन्दै थुनामा पुग्दा अर्यालले नै कार्यवाहक सभापतिको भूमिका पनि निर्वाह गरेका थिए। उनै अर्याल यसपटक भने काठमाडौं-९ बाट फराकिलो मतान्तरले विजयी हुँदै प्रतिनिधिसभा आइपुगेका हुन् ।

२०७९ असार ७ गते रास्वपा गठनसँगै सक्रिय राजनीतिमा प्रवेश गरेका अर्याल पार्टी दर्ता हुँदा केन्द्रीय सदस्यकाे सूचीमा तेस्रो स्थानमा थिए। महाेत्तरीकाे जलेश्‍वर बैठकबाट स्वर्णिम वाग्ले उपसभापतिमा थपिनुअघि भने उपसभापति  भइसकेका थिए। हाल उनी पार्टीको प्रवास विभाग प्रमुखसमेत हुन्।

रवि लामिछाने टेलिभिजन प्रस्तोता रहँदा अर्याल इजिलिंक रेमिट्यान्ससँग आबद्ध थिए। सोही समयदेखि उनीहरूबीच निकटता बढेको हो। अर्यालले उक्त कम्पनीमार्फत लामिछानेलाई ‘ब्रान्ड एम्बेस्डर’ बनाएका थिए।

अर्याल २०५३ सालमा रोजगारीका लागि जापान पुगेका थिए र त्यहाँ रेस्टुरेन्ट व्यवसायमा समेत संलग्न रहे। धादिङको साविक मैदी गाविस (हाल ज्वालामुखी गाउँपालिका) मा जन्मिएका उनी काठमाडौंमा बसोबास गर्दै आएका छन्।

पर्यटन, शिक्षा, वैदेशिक अध्ययन परामर्श, सहकारी र रेमिट्यान्स क्षेत्रसँग जोडिएका अर्यालसँग विभिन्‍न संस्थाका लगानीकर्ता, निर्देशक र प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेको अनुभव बटुलेका छन्।

अब सभामुख हुन लागेका उनले प्रतिनिधिसभा बैठक निष्पक्ष सञ्‍चालन, कार्यव्यवस्था व्यवस्थापन, संसदीय समिति गठन तथा संसद् सचिवालयको प्रशासनिक जिम्मेवारी सम्हाल्नुपर्नेछ।

उपसभामुख पद कुन दलले पाउने टुंगो अझै लागेको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उक्त पद पाउने सम्भावना बलियो देखिएको छ, जुन दलबाट खुश्बु ओलीको नाम चर्चामा छ।

नेकपाले पनि दाबी गरिरहेको छ । तर शक्ति सन्तुलन बिग्रिने चिन्ताले रास्वपा यसमा सकारात्मक देखिएको छैन। एमालेसँगको सम्भावित सहकार्य र विपक्षी नेतृत्व एउटै पक्षमा केन्द्रित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो रणनीति अपनाइएको बताइन्छ।

यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह कम्युनिस्ट शक्तिसँग सहकार्यप्रति सकारात्मक नरहेको चर्चा छ। साेही कारण सभामुख र उपसभामुखमा रास्वपा र राप्रपाबीच तालमेल हुने सम्भावना बढेको देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *