इरानी सरकारको नियन्त्रणमा रहेका अमृत झा सकुशल छन् : परराष्ट्र
काठमाडौं। परराष्ट्र मन्त्रालयले इरानी सरकारले नियन्त्रणमा राखेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ। मन्त्रालयले पत्रकार सम्मेलनमार्फत ३३ वर्षीय झा हाल इरानको कारागारमा रहेकामा जानकारी दिएको हो।
मन्त्रालयका अनुसार, झा मध्यपूर्वमा तनाव सुरु हुनु अघि नै पक्राउ परेका थिए। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेकाले तत्काल थप कदम चाल्न कठिन भएको जानकारी दिए । उनले झाको विषय हालको द्वन्द्वसँग सम्बन्धित नरहेको स्पष्ट पारे। मन्त्रालय झाको अवस्थाबारे थप बुझ्दै गरेको र सम्बन्धित पक्षसँग सम्पर्कमा रहेको पनि क्षेत्रीले बताए।
महोत्तरी घर भई उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ बस्दै आएका झा दुबईमा काम गर्नका लागि दुई वर्ष अघि नेपालबाट गएका थिए।
तेल बोक्ने जहाजमा सिप क्याप्टेनको रूपमा कार्यरत अमृतले थाइल्यान्डको बैंककमा अध्ययन गरेका थिए। अध्ययनपछि उनी कामका लागि दुबई गएका थिए । उनी यसअघि पनि सिप लिएर तेल लिन इरान जाने गरेका थिए।
