`

भलिबल प्रशिक्षक कुमार राई सम्मानित

Nepal One HD २० चैत २०८२ १७:०८
खेलकुद

काठमाडौं। भलिबल प्रशिक्षक कुमार राईलाई २०औँ एनएनआइपिए स्पोर्ट्स अवार्ड २०८१ अन्तर्गत गजराज आदर्श खेल व्यक्तित्व अवार्डबाट सम्मानित गरिएको छ। राईलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहेताले सम्मान प्रदान गरेका हुन्। उक्त सम्मानसँगै उनलाई ३५ हजार रुपैयाँ नगद पनि प्रदान गरिएको छ।

नेपाली महिला भलिबलमा कुमार राईको योगदान अत्यन्त महत्वपूर्ण मानिन्छ। उनी न्यु डायमण्ड भलिबल एकेडेमीका संस्थापक तथा प्रशिक्षक मात्र नभई महिला खेलाडी उत्पादनका प्रमुख आधारस्तम्भका रूपमा स्थापित छन्।

नेपाली महिला भलिबलको विकासमा न्यु डायमण्डको भूमिका उल्लेखनीय रहँदै आएको छ। यसै एकेडेमीबाट राष्ट्रिय टोलीका धेरै उत्कृष्ट खेलाडी उत्पादन भएका छन्।

कुनै समयकी चर्चित खेलाडी रमिला तण्डुकारदेखि प्रतिभाशाली मालीसम्मका खेल यात्रामा राईको महत्वपूर्ण मार्गदर्शन रहेको छ। त्यस्तै, कृपा अधिकारी, रेश्मा भण्डारी, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी र प्रगति नाथजस्ता खेलाडी पनि न्यु डायमण्डबाटै तयार भएका हुन्।

न्यु डायमण्डसँगै राईले उमेर समूहका महिला राष्ट्रिय भलिबल टोलीको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

स्कुलको सानो मैदानबाट सुरु भएको न्यु डायमण्ड अहिले व्यवस्थित एकेडेमीका रूपमा विस्तार भइसकेको छ।

६ दशक नजिक पुग्दै गरेका प्रशिक्षक राईको जीवन भलिबलमै केन्द्रित रहँदै आएको छ। उनको दीर्घकालीन योगदानको कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *