`

नेपालमै यस्तो आविष्कार : के हो ‘काचाल्का’ प्रविधि?

समिन बरुवाल २३ चैत २०८२ १८:४०
फिचर

काठमाडौं। कृषिलाई व्यावसायिक रूपमा रूपान्तरण गर्दै कम लागतमा बढी उत्पादन हासिल गर्नु  प्रमुख आवश्यकता मात्र नभई अनिवार्यता बनेको छ।

नेपालका विभिन्न कृषि विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूले यस क्षेत्रमा अध्ययन-अनुसन्धान गरिरहेका छन्। तर, ती अनुसन्धानका धेरै निष्कर्ष व्यवहारमा प्रभावकारी रूपमा लागू हुन नसक्दा कागजमै सीमित हुने अवस्था देखिएको छ।

अपेक्षित कृषि उत्पादनका लागि मल र बिउ उपलब्ध भए पनि सिँचाइ प्रणालीको उपयुक्त प्रयोगबिना उत्पादन सम्भव हुँदैन। पानीको मात्रा, माटोको प्रकार र बालीअनुसार सिँचाइ विधि निर्धारण गर्नु आवश्यक हुन्छ। यसका लागि उपलब्ध प्रविधि र उपकरणलाई स्थानीयस्तरमा व्यवहारमै आधारित बनाउनु जरुरी छ।

यही सन्दर्भमा ‘काचाल्का’ (डिस्क्रेट इरिगेट सिस्टम) सिँचाइ प्रविधि प्रभावकारी विकल्पका रूपमा देखिएको छ। कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा २३ वर्ष प्राध्यापन गरेका प्रा.डा. ईश्वर भगवानदास मानन्धरले विकास गरेको यो प्रविधि अहिले चितवनको भरतपुर-१६, विजयनगरमा चर्चामा छ।

सन् १९९३ मा विद्यावारिधि अध्ययनका क्रममा रुसमा विकास भएको यो प्रविधिलाई मानन्धरले नेपाली माटोअनुकूल परिमार्जन गर्दै आफ्नै चार कट्ठा जग्गामा सुन-कागती खेतीमार्फत परीक्षण गरी प्रमाणित गरेका छन्।

सामान्यतया ट्याङ्की वा ड्रममार्फत गरिने सतह सिँचाइमा धेरै पानी खेर जाने गर्छ। तर, काचाल्का प्रविधिले बिरुवालाई आवश्यक मात्रामा पानी थोपा-थोपा रूपमा पुर्‍याई पानी बचत गर्न मद्दत गर्छ। लामो अनुसन्धान र अनुभवका आधारमा विकास गरिएको यस प्रविधिलाई मानन्धरले अवकाशपछि व्यवहारमै प्रयोगमा ल्याएका हुन्।

उनले भने,‘कर्तव्य पूरा गर्न अब म आफैँ फिल्डमा आएको छु । मैले जागिर नै छोडेर अहिले कृषिमा लागेको छु। यो प्रविधि किसानहरूसम्म व्यावहारिक रूपमा पु-याउनु नै मेरो उद्देश्य र कर्तव्य पनि हो ।’

उनले किसानसमक्ष यो प्रविधि पुर्‍याउने लक्ष्यसहित आफ्नै खेतबारीमा प्रयोग गरिरहेका छन्। झट्ट हेर्दा सामान्य सतह सिँचाइ जस्तो देखिए पनि यसमा वैज्ञानिक रूपमा प्रमाणित प्रणाली प्रयोग गरिएको छ, जसले पानीको खपत घटाउँदै उत्पादन र सिँचाइ दक्षता बढाउँछ।

उनले भने, ‘काचाल्का सतहमा आधारित, मेकनाइज गरिएको सेमि-अटोमेटिक इरिगेसन सिस्टम हो, जसले बिरुवा वा खेतलाई आवश्यक मात्र पानी मात्र उपलब्ध गराउन सक्छ । खेतको आकार अनुसार पानी वितरण गर्न सकिन्छ । यो प्रविधि थोपा-स्प्रिङकलिङ प्रणालीभन्दा सस्तो छ । किसानले आफैँ निरीक्षण गरेर बिग्रिएको भाग देख्न र आवश्यक परे आफैँ बनाउन पनि सक्छन् ।’

उनका अनुसार ‘काचाल्का’ रूसी शब्द हो, जसले पानी व्यवस्थापनका लागि प्रयोग हुने सानो ट्याङ्की वा चेम्बर जनाउँछ। यस प्रणालीमार्फत मुख्य मुहानबाट आएको पानी सानो संरचनामा संकलन गरी आवश्यकताअनुसार वितरण गरिन्छ, जसले पानीको दबाब र प्रवाह नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ।

यस प्रविधिको सिँचाइ दक्षता करिब ९३ प्रतिशत र पानी वितरणको समानता ९५ प्रतिशत रहेको दाबी गरिएको छ। इच्छुक किसानले यो प्रविधि अपनाउन चाहेमा आवश्यक सहयोग उपलब्ध गराइने मानन्धरले बताएका छन्। साथै, चितवनको कृषि विकास कार्यालयमार्फत पनि जानकारी लिन सकिनेछ।

किसानले आफैं मर्मत गर्न सक्ने र माटोअनुसार पानी नियन्त्रण गर्न मिल्ने भएकाले यो प्रविधि व्यावसायिक कृषिका लागि उपयोगी मानिएको छ। हाल मानन्धरले आफ्नै लगानीमा यो प्रविधि किसानसम्म पुर्‍याउने अभियान सञ्चालन गरिरहेका छन्। स्थानीयका अनुसार यो प्रविधि किसानमैत्री र मितव्ययी दुवै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *