रास्वपा सांसद खगेन्द्र सुनारद्वारा दलित समुदायसँग माफी माग्ने कदमको स्वागत(भिडियाे)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद खगेन्द्र सुनारले दलित समुदायसँग माफी माग्ने हिम्मत देखाएकोमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवाद व्यक्त गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले इतिहासमा पहिलोपटक सरकारले दलित समुदायसँग माफी मागेको घटनालाई ऐतिहासिक क्षण भनेका हुन् । उनले दलित नागरिकलाई ‘लास र दास’को रूपमा व्यवहार गर्ने कार्य बन्द हुनुपर्ने पनि जोड दिएका छन्।
सांसद सुनारले संसदमा दलित समुदायमाथि विगतमा भएका हिंसात्मक घटनाहरू स्मरण गराउँदै, रुकुम, बझाङ, कैलाली, रूपन्देही, खोटाङ, म्याग्दी, सुर्खेत लगायतका विभिन्न ठाउँमा दलितहरूमाथि भएको बलात्कार, हत्या र जातीय हिंसाका घटनाको उल्लेख गरेका छन्।
‘यो सबै घटनाले देखाउँछ कि जातीय आधारमा दलित समुदायमाथि भएको अन्याय कहिल्यै बिर्सिन सकिँदैन’, उनले संसदलाई सम्बोधन गर्दै भने।
सांसद सुनारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविनामिसानरले माइतीघर मण्डलमा ‘कहिले सम्म दलितहरूलाई हातमा नेल लगाएर बस्न दिइने हो?’ भनेर आन्दोलन सुरु गरेको स्मरण गर्दै, पार्टी र वर्तमान सरकारले क्षमायाचना गर्ने साहस देखाएकोमा प्रशंसा गरेका छन्।
उनी भन्छन्, ‘अहिलेको सरकारले दलित समुदायसँग क्षमा मागेर ऐतिहासिक कदम उठाएको छ’, उनले भने, ‘अब यसलाई नीतिगत र विधिगत रूपमा स्थापित गरेर वर्षौंदेखि अन्यायमा परेका समुदायले न्याय महसुस गर्न सकुन्।’
सांसद सुनारको यो भाषणले दलित समुदायप्रति सरकारको संवेदनशीलता र ऐतिहासिक क्षमायाचना प्रक्रिया प्रवद्र्धन गर्ने महत्त्व दर्शाएको छ।
