साझाले बनायो डिजेल बसलाई ईभी
काठमाडौं। साझा यातायातले डिजेलबाट सञ्चालन हुने बसलाई विद्युतीय बस (ईभी) मा रूपान्तरण गर्न सफल भएको छ। साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार संस्थाको प्राविधिक टोलीले लामो प्रयासपछि डिजेल बसलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्न सफल भएको हो।
करिब तीन वर्षको तयारीपछि २०८१ वैशाखमा पहिलो बसलाई ईभीमा रूपान्तरण गरी सञ्चालनमा ल्याइएकोर्यकारी अधिकृत अर्यालले जानकारी दिए। अर्यालका अनुसार पहिलो पटक यस्तो रूपान्तरण गर्दा आवश्यक उपकरणको व्यवस्थापन, नीतिगत चुनौती तथा प्राविधिक जटिलतासहित विभिन्न कठिनाइ सामना गर्नुपरेको थियो। ती सबै प्रक्रिया पार गर्दै करिब ६ महिनाको अवधिमा काम सम्पन्न गरिएको उनले बताए।
उनका अनुसार यो अनुभवका आधारमा साझा यातायातले आफ्ना सञ्चालनमा रहेका ७१ वटा डिजेल बसलाई क्रमशः विद्युतीय बसमा रूपान्तरण गर्ने योजना बनाएको छ। तर हाल सरकारको मापदण्ड र आवश्यक नीतिगत प्रावधान स्पष्ट नभएकाले केही समय कुर्नुपर्ने अवस्था रहेको उनले बताए।
यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम इन्धनमा सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने निर्णय गरेको थियो।
अर्यालले स्पाइनल इन्जुरी रिह्याबिलिटेशन सेन्टरसँगको सहकार्यमा प्राप्त १४ वर्ष पुरानो बसलाई पाइलट प्रोजेक्टका रूपमा प्रयोग गरी रूपान्तरण गरिएको जानकारी दिए। सो परियोजनामा करिब ८० लाख रुपैयाँ खर्च भएको थियो, जसमा कन्भर्सन किट र इन्जिन तथा मोटर व्यवस्थापनका लागि आवश्यक खर्च समावेश थियो।
उनका अनुसार उपकरण आयातमा लाग्ने कर तथा प्रक्रियागत ढिलाइका कारण लागत र समय दुवै बढेको हो। प्रारम्भिक परीक्षणका क्रममा आवश्यक सामान ल्याउँदा विमानस्थलमै लामो समय रोक्नुपरेको अनुभव पनि उनले सुनाए।
बढ्दो संख्यामा रूपान्तरण गर्दा लागत घट्न सक्ने अपेक्षा साझा यातायातको रहेको छ।
