ह्वाट्सएपबाट चिट चोराउने शिक्षकसहित चार जना पक्राउ
काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)मा प्रविधिको दुरुपयोग गरी चिट चोराउने कार्यमा संलग्न एक शिक्षकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गोप्य सूचनाका आधारमा परीक्षा केन्द्र आसपासबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
रौतहट प्रहरीले जनाएअनुसार माध्यमिक विद्यालय सिम्राभवानीपुर परीक्षा केन्द्रमा चिट चोराउँदै गरेको अवस्थामा चन्द्रपुर नगरपालिका-६ का १९ वर्षीय रञ्जित साह पक्राउ परेका हुन्।
यसैगरी, माध्यमिक विद्यालय शीतलपुरमा कार्यरत शिक्षक चन्द्रपुर नगरपालिका-७ वनबहुअरी टोलका ४० वर्षीय तेजनारायण चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, गुजरा नगरपालिका-५ लक्ष्मीपुरका २१ वर्षीय महमद हुसेन र सोही स्थानका २४ वर्षीय समिर मन्सुरी पनि सोही कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले सामाजिक सञ्जाल ह्वाट्सएपमा छुट्टै समूह बनाएर परीक्षामा अनियमितता गरेका थिए। उक्त समूहमार्फत प्रश्नपत्र बाहिर निकाल्ने र उत्तर तयार पारेर परीक्षार्थीसम्म पुर्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनामाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
