‘आइकार’ र ‘ओमोडा जेको’ वारेन्टी विस्तार
काठमाडौं । नेपालका लागि ओमोडा जेको र आइकारका आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रालिले आफ्ना विद्युतीय सवारी (इभी) मोडेलहरूमा ११ वर्षे विस्तारित वारेन्टी घोषणा गरेको छ। कम्पनीले यो वारेन्टीलाई नेपालमै उपलब्ध सबैभन्दा लामो इभी वारेन्टीमध्ये एक दाबी गरेको छ।
हालसम्म यी सवारीमा ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको मानक वारेन्टी उपलब्ध थियो। नयाँ कार्यक्रमअन्तर्गत अब ब्याट्रीको वारेन्टी ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर तथा ड्राइभ मोटर एसेम्बलीको वारेन्टी ११ वर्ष वा २ लाख किलोमिटरसम्म विस्तार गरिएको छ, जुन पहिले पुग्ने आधारमा लागू हुनेछ।
यो विस्तारित वारेन्टी ओमोडा इ५, जेको जे५, जेको जे६टी र आइकार भी२३ मोडेलहरूमा लागू हुनेछ। कम्पनीका अनुसार यसले ग्राहकको विश्वास बढाउनुका साथै विद्युतीय सवारीको स्वामित्वलाई अझ सुरक्षित र भरपर्दो बनाउनेछ।
वारेन्टीअन्तर्गत ट्र्याक्सन ब्याट्री प्याक र ड्राइभ मोटर एसेम्बलीमा देखिने प्राविधिक समस्याहरूमा पूर्ण कभरेज प्रदान गरिने कम्पनीले जनाएको छ।
एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यस पहलले विद्युतीय सवारी प्रविधिप्रतिको कम्पनीको विश्वास र ग्राहकप्रतिको प्रतिबद्धता झल्काउने बताए।
हाल कम्पनीले देशभर १८ भन्दा बढी बिक्री केन्द्र र १५ सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ। साथै, बिक्री र चार्जिङ पूर्वाधार विस्तार गर्दै ओमोडा जेको र आइकारले नेपालमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै लगेका छन्।
