ओली रिहा हुने बित्तिकै गाडी लिएर अस्पताल पुगिन् पत्नी राधिका (भिडियो)
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहा भएका छन् । सर्वोच्च अदालतले अब म्याद नथप्न परमादेश दिएपछि बिहीबार ओलीलाई रिहा गरिएको हो ।
ओली रिहा भएपछी ओलीपत्नी राधिका शाक्य ओलीलाई लिन अस्पताल पुगेकी छन्।
शिक्षण अस्पतालमा उपचाररत ओलीलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । जेनजी आन्दोलन सम्बन्धमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सिलसिलामा यही चैत १४ गते बिहान ओली पक्राउ परेका थिए ।
काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न तेस्रोपटक दिएको ५ दिनको म्याद गएराति सकिएको थियो । बालेन्द्र शाह नेतृत्वको सरकार बनेलगत्तै पहिलो मन्त्रिपरिषद बैठकले चैत १३ गते कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा भोलिपल्ट बिहानै ओली पक्राउ परेका थिए । ओलीपत्नी राधिका शाक्यले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार अब म्याद नथप्न परमादेश जारी गरेको थियो ।
यसबीचमा मुद्दा दायर गर्न सम्भव नभएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको निर्णयबमोजिम हाजिरी जमानीमा छाडिएको हो ।
