`

औषधि मूल्यवृद्धि बिषयमा छानबिन,महानिर्देशक तानिए मन्त्रालय

Nepal One HD २७ चैत २०८२ १२:५४
अर्थ समाचार

काठमाडौं। औषधिको मूल्य बढाइएको विषयलाई लिएर औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई कारबाही स्वरूप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको निर्णयअनुसार बिहीबार राति उनलाई मन्त्रालयमा बोलाइएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत यस विषयमा गम्भीर चासो देखाउँदै छानबिन अघि बढाउन निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयले औषधि मूल्य वृद्धिको प्रक्रिया र त्यसमा भएको सम्भावित अनियमितताबारे विस्तृत अनुसन्धान गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ। साथै, तीन सदस्यीय विज्ञ सम्मिलित छानबिन समिति गठन गर्न पनि स्वास्थ्य सचिव विकास देवकोटालाई आदेश दिइएको छ।

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीका आधारमा सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको स्रोतले जनाएको छ।  ‘औषधिको मूल्य वृद्धिबारे के भएको हो ? औषधि मूल्य निर्धारण प्रक्रिया के के हुन् ? अनियमिततामा को को संलग्न छन् खुलाएर प्रतिवेदन पेस गर्नु’, प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनमा भनिएको छ ।

यसअघि पनि प्रतिनिधिसभा बैठकमा औषधिको अनधिकृत मूल्यवृद्धिको विषय उठेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले मूल्य वृद्धि प्रक्रियामा गम्भीर अनियमितता भएको आशंका व्यक्त गर्दै ठूलो आर्थिक अनियमितता हुन सक्ने बताएका थिए।

उनले महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाउँदै औषधि व्यवस्थापन प्रणालीमै कमजोरी रहेको टिप्पणी गरेका थिए।

हाल सरकारले यस विषयमा छानबिन तीव्र बनाएको छ र प्रतिवेदन आएपछि थप कदम चालिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *