चन्द्र अभियान पूरा गरेर ‘आर्टेमिस–२’ पृथ्वी फर्कियो
एजेन्सी। नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी पृथ्वीमा फर्किएको छ।
अन्तरिक्ष इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै नासाको ‘आर्टेमिस-२’ का चार अन्तरिक्ष यात्रीहरू १० दिने चन्द्र यात्रा पूरा गरी नेपाली समयअनुसार शनिबार बिहान प्रशान्त महासागरमा सफलतापूर्वक अवतरण गरेका हुन्।
क्यालिफोर्नियाको तट नजिकै प्यारासुटको सहायताले क्याप्सुललाई सुरक्षित रूपमा समुद्रमा खसालिएको थियो, जहाँ अमेरिकी नौसेना र नासाको टोली पहिले नै उद्धारका लागि तयारी अवस्थामा थिए।
क्याप्सुल पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा करिब २५ हजार माइल प्रतिघन्टाको अत्यधिक गतिमा थियो। वायुमण्डलको घर्षणका कारण क्याप्सुलको बाहिरी भागले झण्डै २,७०० डिग्री सेल्सियस तापक्रम सहेको थियो।
यस अभियानले मानव जातिले अन्तरिक्षमा तय गरेको दूरीको ५० वर्ष पुरानो रेकर्ड समेत तोडेको छ। सन् १९७२ को ‘अपोलो-१७’ पछि चन्द्रमाको नजिक पुग्ने यो पहिलो मानवसहितको मिशन हो।
अप्रिल ६ मा चन्द्रमाको वरिपरि घुम्ने क्रममा यो यान पृथ्वीबाट ४ लाख किलोमिटरभन्दा बढी दूरीसम्म पुगेको थियो। यो मानिसले अन्तरिक्षमा यात्रा गरेको अहिलेसम्मकै सबैभन्दा टाढाको दूरी मानिन्छ।
अन्तरिक्ष यात्रीहरू:
१) रिड वाइसम्यान – कमान्डर
२) भिक्टर ग्लोभर – चन्द्र यात्रामा जाने पहिलो अश्वेत व्यक्ति
३) क्रिस्टिना कोच – चन्द्र यात्रामा जाने पहिलो महिला
४) जेरेमी ह्यान्सन – चन्द्र यात्रामा जाने पहिलो क्यानेडियन नागरिक
