बालेन प्रधानमन्त्री भएपछि पेट्रोलियम पदार्थमा तीनपटक मूल्यवृद्धि
काठमाडौं । बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएको दुई सातामा तीनपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।
बालेन १३ चैतमा प्रधानमन्त्री भएका थिए । त्यसयता १७ चैत, १९ चैत र २६ चैतमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भयो ।
बालेन प्रधानमन्त्री भएको दुई दिनअघि ११ चैत र १ चैतमा पनि मूल्यवृद्धि भएको थियो । एक महिना पनि नबित्दैन पेट्रोलमा प्रतिलिट ६२ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर समान ६५ रुपैयाँ तथा हवाई इन्धन एक सय ३० रुपैयाँ प्रतिलिटर महँगिएको छ । खाना पकाउने एलपी ग्यास एक सय रुपैयाँ प्रतिसिलिन्डर बढेको छ ।
मूल्यवृद्धिपछि पेट्रोल दुई सय १९ रुपैयाँ, डिजेल र मट्टीतेल समान दुई सय सात रुपैयाँ तथा हवाई इन्धन दुई सय ५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
ग्यास प्रतिसिलिन्डर दुई हजार १० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय विमान कम्पनीले भर्ने हवाई इन्धनको भाउ पनि प्रतिकिलोलिटर आठ सय १९ डलरले वृद्धि भएर १७ सय ८५ डलर प्रतिकिलोलिटर पुगेको छ ।
पश्चिम एसियामा चर्किँदो युद्धले पेट्रोलियम पदार्थको आपूर्ति शृङ्खला प्रभावित हुँदा अन्तर्राष्ट्रियस्तरमै मूल्यवृद्धि भएको हो ।
बालेन सरकारले पेट्रोलियम पदार्थको आयातमा भन्सार छुट ५० प्रतिशत दिएको भए पनि मूल्य झनै महंगिएको छ । यसलाई लिएर बालेन सरकारको विरोध भइरहेको छ ।
विगतमा एकपटक मूल्य वृद्धि भयो भने सरकारको विरोध हुन्थ्यो । विद्यार्थी संगठनहरुदेखि उपभोक्ता अधिकारकर्मीहरू सडकमा ओर्लिन्थे र सरकारविरुद्ध प्रदर्शन गर्थे ।
तर, यसपटक सबै चुपचाप छन् । गत चुनावमा चुपचाप घण्टीछापमा भोट दिएका जनता पनि मूल्यवृद्धि अचाक्ली हुँदा पनि चुपचाप छन् ।
