प्रधानमन्त्री कप : सुदूरपश्चिमसँग पुलिस ५६ रनले पराजित
काठमाडौँ । जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ५६ रनले पराजित भएको छ।
जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य पछ्याएको पुलिस ३५.१ ओभरमा १३५ रनमै समेटियो।
पुलिसका ओपनर कुशल भुर्तेल शून्य रनमै आउट भए भने अर्का ओपनर दिनेश खरेल १० रनमै पभिलियन फर्किए। पुलिसका लागि गुलशन झाले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ६४ बलमा ५० रन बनाउँदै ५ छक्का र १ चौका प्रहार गरे।
सुदूरपश्चिमका लागि हेमन्त धामी र शेर मल्लले समान ३-३ विकेट लिएर जित सुनिश्चित गरे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४०.४ ओभरमा १९१ रनमा अलआउट भएको थियो। टोलीका लागि नारायण जोशीले ८० बलमा ८२ रनको शानदार पारी खेले, जसमा ७ चौका र ६ छक्का समावेश थिए। कप्तान शेर मल्ल भने ३ रनमै आउट भए।
पुलिसका लागि दिनेश खरेलले ४ विकेट लिए भने सागर ढकालले ३ विकेट लिए।
