सुक्खा तरकारीका लागि पनि आयातकै भर
काठमाडौँ। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै छ । तथ्याङ्कअनुसार सुकुटीको आयात निर्यातभन्दा धेरै गुणा बढी छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार गएको आठ महिनामा विभिन्न देशमा रु सात लाख सात हजारको सुकुटी निर्यात हुँदा रु छ करोड २९ लाख ८९ हजारको आयात भएको छ ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सबैभन्दा धेरै सुकुटी तरकारी अमेरिकामा निर्यात हुँदा त्यसबाट रु तीन लाख पाँच हजार मात्र आम्दानी भएको छ । अमेरिकामा विभिन्न थरीका ५१७ केजी सुकुटी तरकारी निर्यात भएको थियो ।
यसैगरी, मलेसिया रु तीन लाख सात हजार, युनाइटेड अरब इमिरेट्समा रु ७५ हजार बराबरको सुकुटी तरकारी निर्यात भएको छ ।
सोही अवधिमा भारत, चीन, अमेरिका र अन्य विभिन्न मुलुकबाट नेपालले दुई लाख २९ हजार ५४४ केजी अर्थात् रु छ करोड २९ लाख ८९ हजार बराबरको सुकुटी तरकारी आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
सुकुटी भन्ने बित्तिकै प्रायः मानिसले सुकाइएको मासु सम्झिन्छन्, तर पछिल्लो समय फलफूल तथा तरकारीबाट पनि सुकुटी बनाउने चलन बढ्दै गएको छ । गाँउदेखि सहरसम्म यस्तो सुकुटीले नयाँ स्वाद दिने मात्र होइन, खाद्य सुरक्षा र आम्दानीको सम्भावना पनि बढाएको जानकारहरू बताउँछन् ।
हिमालपारिको जिल्ला मनाङको चामे, ब्रागा, नगाव, पिसाङलगायतका गाउँमा र मुस्ताङको टुकुचे गाउँदेखि उपल्लो मुस्ताङको छुसाङ गाउँमा हिउँदका चार महिना सुकुटी बनाउन किसानहरूलाई भ्याइनभ्याइ हुने गर्छ । स्थानीय पत्रकार सुशीलबाबु थकाली आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर यहाँ सुकुटी बनाउन सुरु भएको झन्डै चारदशक भइसकेको बताउनुहुन्छ ।
उहाँका अनुसार यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले स्याउको सुकुटी कोसेलीका रूपमा खरिद गर्ने गर्छन् । त्यसैले त्यहाँ धमाधम स्याउको सुकुटी बिक्री केन्द्र खुलिरहेका छन् ।
चामे गाउँपालिका–४ का व्यवसायी सेरप गुरुङ स्याउको सुकुटी प्रतिकेजी रु एक हजार २०० देखि रु एक हजार ३०० सम्म बिक्रीवितरण भइरहेको बताउनुहुन्छ । यसबाट व्यापारी मात्रै होइन, अन्य स्थानीय पनि लाभान्वित भइरहेका बताउँदै उहाँले सुकुटी बनाउने मजदुरलाई दैनिक रु एक हजार २०० सम्म ज्याला दिने गरिएको जानकारी दिनुभयो ।
मनाङ र मुस्ताङ मात्र होइन, कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, कालीकोट डोल्पा, सोलुखुम्बुमा पनि सुकुटी बनाउने गरिएको छ । ती जिल्लाका विभिन्न ठाउँमा स्याउबाहेक विभिन्न जातका तरकारीको सुकुटी बनाउने गर्छन् ।
यसैगरी, पहाडी क्षेत्र गोरखा, लमजुङ, कास्की, सिन्धुपाल्चोक, दोलखा, ओखलढुङ्गा, खोटाङ, रुकुम, रोल्पालगायत जिल्लामा पनि हिउँदमा तरकारीको सुकुटी बनाएर अभावको सयममा त्यसको उपभोग गर्ने र बढी भएको केही सुकुटी बजारमा बिक्री गर्ने गरिन्छ ।
यी क्षेत्रमा इस्कुस, मूला, काउली, ब्रोकाउली, तीतेकरेला, बरेलाका साथै विभिन्न थरीका सागपात, भ्यान्टा, सिमी, लौका, फर्सी, आलु, कुबिन्डो, चिचिण्डो, भिण्डी, तरुल, च्याउ, निगुरो, कर्कलो, परबल, पिँडालु, भेडेखुर्सानीलगायतका तरकारीलाई सुकाएर सुकुटी बनाउने गरिएको छ । यस्तो तरकारीको व्यावसायिक विकास भने हुन सकेको छैन ।
जनस्वास्थ्यविद् डा अरुणा उप्रेती पुर्खाहरूले वर्षामा तरकारीको अभाव वा गर्जो टार्न तरकारीको सुकुटी बनाउने गरेकामा अब यसको व्यावसायिक उत्पादनमा लाग्नुपर्ने बताउनुहुन्छ । “सुकुटी तरकारीमा विषादीको अवशेष नहुने भएकाले स्वास्थ्यका लागि फाइदाजनक छ । त्यसैले यसको प्रचारप्रसारका साथै निर्यातका लागि योजनासहित अगाडि बढ्नुपर्छ, त्यसबाट आर्थिक रूपमा पनि पर्याप्त लाभ लिने सम्भावना छ”, उहाँले भन्नुभयो, “जाडो मौसममा हिमाली जिल्लालगायत देशका अधिकांश क्षेत्रमा ताजा तरकारीको अभाव हुने भएकाले भविष्यमा तरकारीको जोह गर्नका लागि पनि सुकुटी बनाउने चलन सयौँ वर्षदेखि चलिआएको हो । अब यसको प्रवद्र्धन गरिनुपर्छ ।”
पोषणका हिसाबले पनि तरकारीको सुकुटी महत्वपूर्ण रहेको डा उप्रेतीको भनाइ छ । सुकाउने क्रममा केही भिटामिन नष्ट भए पनि पहिले प्रयोग भएको विषादीको अवशेष हट्न गई अन्य पोषक तत्व सुरक्षित हुनाले यसलाई स्वास्थ्यबद्र्धक मानिएको जानकारहरू बताउँछन् ।
