वैशाखमा कुन बैंकले कति ब्याजदर घटाए ?
काठमाडौं। बैङ्कहरूले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।
बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार वाणिज्य बैंक प्रणाली अन्तर्गत २०८३ वैशाखमा औसत व्यक्तिगत मुद्दती निक्षेपमा ४.४१ प्रतिशत र संस्थागततर्फ ३.२३ प्रतिशत ब्याज दिने भएका हुन्।
चैत्र महिनामा व्यक्तिगततर्फ औसत ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत ब्याजदर रहेको थियो। यसअनुसार वैशाखमा समग्र ब्याजदरमा सामान्य गिरावट देखिएको छ।
वैशाखका लागि ७ बैंकले ब्याजदर घटाएका छन् भने १२ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन्। कृषि विकास बैंकले भने ब्याजदर बढाएको छ।
घटाउने बैंकमध्ये एभरेष्ट बैंकले व्यक्तिगततर्फ ४.०५ प्रतिशत, कुमारी बैंकले ४.०५ प्रतिशत, सिटिजन्स बैंकले ४.१२ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४.१० प्रतिशत, हिमालयन बैंकले ४.५० प्रतिशत, सिद्धार्थ बैंकले ४ प्रतिशत र एनआईसी एशिया बैंकले ४.७५ प्रतिशत ब्याजदर दिने भएका छन्।
त्यस्तै नेपाल बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक लगायतले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन्। एनएमबी बैंकले ५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत ब्याजदर दिने भएका छन्।
