इरानमा १६ सय बढीलाई फाँसी
एजेन्सी। सन् २०२५ मा इरानमा मृत्युदण्डको प्रयोग अत्यन्त तीव्र रूपमा बढेको देखिएको छ। दुई अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका अनुसार सो वर्ष कम्तीमा १,६३९ जनालाई मृत्युदण्ड दिइएको छ, जुन सन् १९८९ पछिकै उच्च तथ्याङ्क हो।
नर्वेमा आधारित इरान मानव अधिकार संस्था र पेरिसस्थित टुगेदर एगेन्स्ट द डेथ पेनाल्टीले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो संख्या सन् २०२४ को तुलनामा ६८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष ९७५ जनालाई मृत्युदण्ड दिइएको थियो।
प्रतिवेदनअनुसार मृत्युदण्ड दिइएकामध्ये ४८ जना महिला रहेका छन्, जुन पछिल्ला दुई दशकयताकै उच्च संख्या हो। औसतमा दैनिक चारभन्दा बढी व्यक्तिलाई फाँसी दिइएको देखिन्छ।
विश्लेषकहरूले यस वृद्धिलाई केवल आपराधिक कारबाही मात्र नभई राजनीतिक नियन्त्रणको माध्यमका रूपमा समेत व्याख्या गरेका छन्। इरान मानव अधिकार संस्थाका निर्देशक महमुद अमीरी–मोघद्दमले मृत्युदण्डलाई “डरको वातावरण सिर्जना गर्ने औजार” का रूपमा प्रयोग गरिएको टिप्पणी गरेका छन्।
प्रतिवेदनमा जातीय तथा धार्मिक अल्पसङ्ख्यक समुदाय, विशेषगरी कुर्द र बलुच समुदाय बढी प्रभावित भएको उल्लेख छ। मृत्युदण्ड पाएकामध्ये करिब आधा लागुऔषध सम्बन्धी मुद्दामा दोषी ठहरिएका थिए।
सार्वजनिक फाँसीका घटना पनि बढेर ११ पुगेका छन्, जुन अघिल्लो वर्षभन्दा तीन गुणा बढी हो। अधिकारकर्मीहरूले यो अवस्थालाई मानवअधिकार संकटको गम्भीर संकेतका रूपमा व्याख्या गरेका छन्।
