राष्ट्रिय नेपाली साहित्य अवार्ड हुने
काठमाडौं। नेपाली भाषा, साहित्य तथा स्रष्टाहरूको सम्मान र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘राष्ट्रिय नेपाली साहित्य अवार्ड’ आयोजना गरिने भएको छ। उक्त अवार्ड रेस्पोन्सिभ मिडिया प्रा.लि.ले आयोजना गर्ने जनाएको छ।
आयोजकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाली साहित्य क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई राष्ट्रिय स्तरमा सम्मान गर्ने लक्ष्य राखिएको छ। साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्दै नयाँ प्रतिभाको पहिचान गर्नु र पुराना स्रष्टाहरूको योगदानको कदर गर्नु अवार्डको मुख्य उद्देश्य रहेको बताइएको छ।
अवार्डअन्तर्गत कविता, कथा, उपन्यास, गजल, निबन्ध, समालोचना लगायत विभिन्न विधामा उत्कृष्ट स्रष्टाहरूलाई सम्मान गरिनेछ। साथै, साहित्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका व्यक्तित्वलाई “लाइफटाइम अचिभमेन्ट अवार्ड” प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
आयोजकका अनुसार अवार्डका लागि आवेदन तथा मनोनयन प्रक्रिया छिट्टै सार्वजनिक गरिनेछ। छनोट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन विज्ञहरूको निर्णायक मण्डल गठन गरिने पनि जनाइएको छ।
यस अवार्डले नेपाली साहित्यको विकास, संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कार्यक्रम काठमाडौंमा भव्य रूपमा आयोजना गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।
