यी ६ टोलीले खेल्दैछन् यो वर्षको जय ट्रफी
काठमाडाैं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट ६ टोलीले यस वर्षको जय ट्रफीमा स्थान बनाएका छन्। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणका खेल सकिएसँगै जय ट्रफी खेल्ने टोलीको पनि टुङ्गो लागेको हो।
आगामी संस्करणको जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष ६ टोली आर्मी, सुदूरपश्चिम, एपिएफ, मधेश, लुम्बिनी र पुलिसले प्रतिस्पर्धा गर्ने भएका छन्।
सहभागी १० टोलीले एकअर्काविरुद्ध नौ-नौ खेल खेलेसँगै प्रतियोगिताको लिग चरण सम्पन्न भएको छ।
लिग चरणका कुल ४४ खेलमध्ये त्रिभुवन आर्मी क्लब एक्लो अपराजित टोली बनेको छ। आर्मीको एक खेल वर्षाका कारण रद्द भए पनि आठ खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो।
आर्मीले अन्तिम खेलमा बुधबार लुम्बिनी प्रदेशलाई एक विकेटले पराजित गरेको थियो। सोही दिन मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई चार विकेटले हराएको थियो।
दोस्रो स्थानमा सुदूरपश्चिम प्रदेश रह्यो। उसले नौ खेलबाट १२ अंक जोड्दै उपविजेता स्थान सुरक्षित गरेको हो। अब आर्मी र सुदूरपश्चिमबीच शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
तेस्रो स्थानमा एपिएफ क्लब ११ अंकसहित रह्यो भने समान अंक भए पनि मधेश प्रदेश चौथो स्थानमा सीमित भयो। लुम्बिनी प्रदेशले नौ अंकसहित पाँचौं स्थान हासिल गर्यो भने समान अंक भए पनि रनरेटका आधारमा नेपाल पुलिस क्लब छैटौं स्थानमा रह्यो।
रनरेटमा पछि पर्दै गण्डकी प्रदेश नौ अंकसहित सातौं स्थानमा रह्यो। अघिल्ला दुई संस्करणमा सहभागी बागमती प्रदेश आठ अंकसहित आठौं स्थानमा सीमित भयो। कर्णाली प्रदेशले तीन अंकसहित नवौं स्थानमा रहँदा कोशी प्रदेशले एक खेल वर्षाका कारण रद्द हुँदा एक अंक जोड्दै कुनै पनि जित निकाल्न सकेन।
