पराजयपछि आत्मसमीक्षामा एमाले : महासचिव शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबारे पार्टी अहिले समीक्षा प्रक्रियामा रहेको बताएका छन्।
उनले निर्वाचन परिणामपछि पार्टीले औपचारिक रूपमा बहुआयामिक समिक्षा सुरु गरिसकेको जानकारी दिएका हुन्।
पोखरेलका अनुसार निर्वाचन समीक्षाको काम हाल वडा, पालिका र जिल्ला तहमा सञ्चालन भइरहेको छ।
तल्लो तहबाट प्राप्त हुने प्रतिवेदनहरू प्रदेश हुँदै केन्द्रमा आइपुगेपछि केन्द्रीय सचिवालयले एकीकृत समिक्षा प्रतिवेदन तयार गर्नेछ। त्यसपछि पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटी बैठकले समग्र मूल्याङ्कन गर्दै संस्थागत धारणा तय गर्ने तयारी गरिएको उनले उल्लेख गरेका छन्।
उनले समीक्षा प्रक्रियालाई थप व्यवस्थित बनाउन केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावलीसमेत तयार पारेको जानकारी दिएका छन्।
सो प्रश्नावलीमार्फत अगुवा कार्यकर्ताहरूबाट व्यक्तिगत सुझाव संकलन भइरहेको छ। प्राप्त सुझाव र तथ्याङ्कका आधारमा पार्टीको कमजोरी, चुनौती र सम्भावनाहरूको पहिचान गरिने पोखरेलको भनाइ छ।
निर्वाचन परिणामलाई गम्भीर रूपमा लिँदै पार्टीलाई पुनः सुदृढ र सशक्त बनाउन योजनावद्ध रूपमा पुनर्जागरण र पुनर्गठनको प्रक्रिया अघि बढाइने उनले स्पष्ट पारेका छन्। ‘समीक्षाबाट प्राप्त निष्कर्षका आधारमा पार्टीलाई नयाँ ऊर्जा र दिशासहित अघि बढाइनेछ,’ उनले आफ्नो स्टाटसमा उल्लेख गरेका छन्।
यसैबीच उनले समीक्षा अवधिमा पार्टीविरुद्ध भइरहेका नकारात्मक प्रचारप्रति पनि ध्यानाकर्षण गराएका छन्।
नियोजित तथा प्रायोजित रूपमा पार्टीलाई विवादित र कमजोर बनाउन खोजिएको दाबी गर्दै उनले त्यस्ता गतिविधिबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरेका छन्।
पोखरेलले पार्टीभित्रको समीक्षा प्रक्रिया नै भविष्यको मार्गचित्र निर्माण गर्ने आधार हुने उल्लेख गर्दै सबै तहका नेता–कार्यकर्तालाई जिम्मेवार ढंगले आफ्नो धारणा राख्न र संगठन सुदृढीकरणमा जुट्न आह्वान गरेका छन्।
