स्वास्थ्य मन्त्रालयमा सरुवा,काज फिर्ता र हेरफेर : को-को परे ?
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका उच्च कर्मचारीको सरुवा,पदस्थापन तथा काज फिर्ता गरेको छ।
स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका तीनवटा महत्त्वपूर्ण महाशाखाका प्रमुखहरू हेरफेर गरेकी हुन्।
मन्त्रालयका अनुसार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने र हालै एघारौँ तहमा बढुवा भएका डा. गुणनिधि शर्मा विभिन्न महाशाखामा आएका छन्। तर उनीहरूको ठ्याक्कै जिम्मेवारीबारे औपचारिक टुंगो भने अझै लागिसकेको छैन।
मन्त्रालयले केही वरिष्ठ चिकित्सक तथा कर्मचारीलाई विभिन्न स्वास्थ्य संस्थामा काज फिर्ता गरेको छ।
नीति योजना महाशाखामा कार्यरत डा. चुमनलाल दासलाई नारायणी अस्पताल पर्सामा पठाइएको छ। स्वास्थ्य समन्वय महाशाखाका डा. भीम सापकोटालाई हेटौँडास्थित किटजन्य प्रयोगशालामा खटाइएको छ।
त्यस्तै गुणस्तर मापन तथा निरीक्षण महाशाखाका प्रमुख डा. सरोज शर्मालाई वीर अस्पतालमै काज फिर्ता गरिएको छ। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई पनि काज फिर्ता गरी गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको छ। यद्यपि उनी हाल बोर्डमै कार्यरत रहने बताइएको छ।
मन्त्रालयले कार्यसम्पादन प्रभावकारी बनाउन र काज प्रणालीको दुरुपयोग रोक्न यो कदम चालिएको जनाएको छ। लामो समयदेखि स्वास्थ्य मन्त्रालयमा काज प्रणालीको दुरुपयोग हुँदै आएको भन्दै अब दरबन्दीअनुसार नै कर्मचारी व्यवस्थापन गर्ने उद्देश्य रहेको मन्त्रालय स्रोतले जनाएको छ।
